१९ वैशाख २०८१, बुधवार

दश वर्षदेखि बंगलादेशसँग लगातार व्यापार घाटा

२० चैत २०८०, मङ्गलवार
Image

झापा, २० चैत  नेपालले एक दशकयता बंगलादेशसँगको व्यापारमा लगातार घाटा व्यहोरिरहेको छ । आर्थिक वर्ष २०८०/०८१ को चालू आठ महिनामै रु. दुई अर्ब ४३ करोड आठ लाख ९० हजार व्यापार घाटा रहेको मेची भन्सार कार्यालयले जनाएको छ ।

नेपाल र बंगलादेशबीच व्यापारका लागि सबैभन्दा छोटो र सहज मार्गका रुपमा पूर्वीनाका काँकरभिट्टाबाट भारतको फुलबारी हुँदै बंगलादेशको बंगलाबन्ध सुख्खा बन्दरगाह छिचोल्ने ५२ किलोमिटरको पारवहन मार्ग प्रयोग हुँदै आएको छ ।

नेपाल, भारत र बंगलादेशबीचको त्रिदेशीय समझदारी अनुसार भूपरिवेष्ठित मुलुक भएका नाताले नेपालले यो सोझो पारवहन मार्ग पाएको हो । त्रिभुवन विमानस्थलको हवाई मार्गमार्फत हुने व्यापारको अंश नगण्य रहेको छ ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७१/०७२ यता नेपालले एउटा वर्ष पनि व्यापारलाई सन्तुलनमा ल्याउन सकेको छैन । पुरै दशकको व्यापार घाटामय रहेको छ । 

आव २०८०/०८१ को चालू आठ महिनामा बंगलादेशबाट रु. २ अर्ब ५९ करोड ६५ लाख ३१ हजार मूल्य बराबरको मालसामान आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । सोही अवधिमा बंगलादेशतर्फ रु. १६ करोड ५६ लाख ४२ हजार मूल्य बराबरको मात्र नेपाली मालसामान निर्यात भएको छ ।

बंगलादेशसँग आव २०७९/०८० मा रु. पाँच अर्ब १८ करोड नौ लाख १३ हजार, आव २०७८/०७९ मा रु. १० अर्ब ३८ करोड ३० लाख ३५ हजार, आव २०७७/०७८ मा रु. छ अर्ब ५४ करोड ७४ लाख एक हजार, आव २०७६/०७७ मा रु. चार अर्ब २४ लाख आठ हजार, आव २०७५/०७६ मा रु. दुई अर्ब ४४ करोड ५० लाख ३७ हजार र आव २०७४/०७५ मा रु. ४५ करोड ५५ लाख ६५ हजार व्यापार घाटा भएको भन्सारको तथ्यांकले देखाएको छ ।

यसैगरी, आव २०७३/०७४ मा रु. दुई अर्ब ८६ करोड ८९ लाख ८१ हजार र आव २०७१/०७२ मा रु. एक अर्ब ४० करोड ९७ लाख १३ हजार व्यापार घाटा भएको छ । त्यसअघिका चार वर्ष बंगलादेशसँगको व्यापारमा नाफामा रहेको देखिन्छ ।

आव २०७०/०७१ मा आयातको तुलनामा रु. ६० करोड ७७ लाख १२ हजार मूल्य बराबरको सामान बंगलादेश निर्यात भएको थियो । उक्त आवमा आव २०७०/०७१ मा रु. बंगलादेशबाट रु. एक अर्ब ४८ करोड ९० लाख ४२ हजार मूल्य बराबरको मालसमान आयात भएको थियो भने नेपालबाट रु. दुई अर्ब नौ करोड ६७ लाख ५४ हजार मूल्य बराबरको सामान बंगलादेश निर्यात भएको थियो । 

यसैगरी, आव २०६९/०७० मा रु. ५८ करोठ २७ लाख ४९ हजार, आव २०६८/०६९ मा रु. एक अर्ब १४ करोड ९० लाख ११ हजार र आव २०६७/०६८ मा रु. दुई अर्ब ३९ करोड ६९ लाख ११ हजार व्यापार नाफा भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले बंगलादेशमा नेपाली उत्पादन निर्यात गर्ने विषयमा सरकारले चासो बढाउनु पर्ने माग गर्नुभयो । उहाँले चार वर्षदेखि पूर्वीनाका (स्थलमार्ग)बाट बंगलादेशी पर्यटक आगमनमा भारतीय पक्षको नीतिगत अवरोध भइरहेको जनाउँदै पर्यटक आगमनको वातावरण बनाउन सके व्यापारमा समेत चलहपहल बढ्ने बताउनुभयो ।

“कोभिडदेखि काँकरभिट्टाबाट बंगलादेशी पर्यटक आउन ठप्प भइरहेको छ,” उहाँले भन्नुभयो–“नेपाली अलैची, अदुवा, इस्कुस, किबी जस्ता कृषि उपजको बंगलादेशमा ठूलो माग छ । निर्यात कसरी गर्ने भन्ने बारेमा नेपाली पक्षले छलफल नै चलाएको छैन ।”