१८ वैशाख २०८१, मङ्गलवार

झापामा कालाजारका दुई संक्रमित भेटिए

२१ चैत २०८०, बुधवार
Image

झापा, २१ चैत । जिल्लामा कालाजार रोगका दुई जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा विगत वर्षमा पनि संक्रमित भेटिएका थिए ।

कार्यालयका फोकल पर्सन विरेन्द्र दासले विर्तामोड नगरपालिका–५ र शिवसताक्षी नगरपालिका–६ मा कालाजारको संक्रमित भेटिएको बताउनुभयो । बिरामी भएर उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँदा उनीहरुमा कालाजार पुष्टि भएको थियो ।

उहाँले कालाजारका संक्रमित फेला परेको टोलमा आरडीटी किटमार्फत रगत परीक्षण समेत गरिरहेको जानकारी दिनुभयो । यही चैत महिनामा फेला परेका दुबै संक्रमित पुरुष छन् ।

उहाँले हाल जिल्लाका विभिन्न स्थानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र सरोकारवाला लगायतसँगको समन्वयमा अभिमुखीकरण तथा कालाजार खोजपड्ताल कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । 

प्रोटोजोआको लिस्मेनिया परजीवी ‘स्यान्डफ्लाई’ नामक पोथी भुसुनाको टोकाईबाट मानिसमा कालाजार संक्रमण हुने उहाँको भनाई छ । संक्रमितलाई टोकेको पोथी भुसुनाले निरोगी व्यक्तिलाई टोकेमा कालाजार सर्ने गर्छ ।

कालाजारका बिरामीमा जिउ कालो हुँदै जाने र दुई साताभन्दा बढी अवधिसम्म ज्वरो आउने, भुँडी सुन्निने लगायतका लक्षणहरु देखा पर्छन् । खुला र भुइँघरमा प्राय रोग सार्ने भुसुनाले मानिसलाई टोकने गर्दछ । 

उहाँले काजारारविरुद्धको अहिलेसम्म खोप उपलब्ध नभएका कारण भुसुनाको टोकाईबाट बच्न लामो बाहुला भएको कपडा लगाउने, भुसुना भगाउन तेल वा क्रिम शरीरमा दल्ने, घर वरिपरि सरसफाईमा ध्यान दिने, साँझको समयमा घर बाहिर नघुम्ने, राति झुल लगाएर मात्र सुत्ने सल्लाह दिनुएको छ ।