१८ वैशाख २०८१, मङ्गलवार

भेटेरिनरी अस्पताल झापाको भवन उद्घाटन

४ वैशाख २०८१, मङ्गलवार
Image

झापा, ३ बैशाख । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको आधुनिक भवनको उद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सोमबार उद्घाटन गर्नुभएको छ ।

उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशीको रु. एक करोड ७१ लाख ६७ हजार लागतमा बनेको भूकम्प प्रतिरोधी अढाई तले भवनको मन्त्री खत्रीले उद्घाटन गर्नुभएको हो । मन्त्री खत्रीले भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै आधुनिक भवनबाट सेवा पनि सरल र सहज रुपले प्रदान गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका सचिव डा. लेखराज दाहाल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाईंलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

देवीडाँडा सञ्जोक जेभी इलामले वि.सं. २०७८ फागुनमा दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी सो भवनको ठेक्का पाएको थियो । सहरी विकास तथा भवन निर्माण कार्यालय इलामको प्राविधिक सहयोगमा बनेको भवनबाट आजैदेखि सेवा समेत सुरुवात गरिएको कार्यालयकी प्रमुख सितल भट्टराईले बताउनुभयो । 

उहाँका अनुसार भवनको पहिलो तलामा ल्याब र सर्जरी कक्ष, दोस्रो तलामा प्रशासनिक कक्षहरु र माथिल्लो तलामा सभा हल रहेको छ । ठेक्का पाएको निर्माण कम्पनीले वि.संं. २०८० भदौ महिनाभित्रमै भवन निर्माण सम्पन्न गरेको थियो ।