१८ वैशाख २०८१, मङ्गलवार

भद्रपुरदेखि इलाम सलकपुर जोड्ने सडक कालोपत्रे हुँदै

४ वैशाख २०८१, मङ्गलवार
Image

झापा, ४ वैशाख । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र भइरहेको छ । उक्त सडकखण्ड अन्तर्गत पाँच किलोमिटर कालोपत्र भइसकेको छ । 

भद्रपुर–फडानी पुल–इँटाभट्टा–सलकपुर नामकरण गरिएको सडकको भौतिक प्रगति ४० प्रतिशत भएकोे झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीले बताउनुभयो । 

उहाँका अनुसार सडक प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको मूल्य  अभिवृद्धि कर (भ्याट)सहित रु २६ करोड ६९ लाख ३३ हजार आठ सय २८ मा निर्माण कम्पनी कनकाई मोती जेभीले ठेक्का सकारेको हो । 

इन्जिनियर चौधरीले भद्रपुर–फडानी पुलबाट इँटाभट्टासम्मको १० किलोमिटर सडक निर्माणमा कुनै समस्या नभएको बताउनुभयो । दुई महिनाभित्रमा सडक निर्माण पूरा हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । 

कालोपत्र भइरहेको सडकको जम्मा चौडाइ पाँच दशमलव पाँच मिटर, मान्छे हिँड्ने बाटोको चौडाइ ० दशमलव ७५ मिटर दुवैतर्फ गरी सडक जम्मा चौडाइ १० मिटरको रहेको थियो । इँटाभट्टा बजारबाट उत्तरतर्फको १० किलोमिटर खण्डमा स्थानीयको अवरोधका कारण ढिलो भएको बताउनुभयो ।

स्थानीयवासीले चौडाई बढाउन दबाब दिएर अवरोध गरेपछि केही समय काम रोकिएको उहाँले बताउनुभयो । “बल्ल विवाद मेचीनगर नगरपालिकाले समन्वय गरेर मिलायो”, उहाँले भन्नुभयो, “थप भएको भ्यादको अवधिमै सडक सम्पन्न गर्ने गरी काम गराइरहेका छौं । बजेटको समस्या भएन भने सकिन्छ पनि ।”

सो सडक निर्माणसँगै भद्रपुर विमानस्थलबाट इलामको रोङ गाउँपालिकाका पर्यटकीयस्थल झण्डीडाँडा, कन्याम, सलकपुरलगायतका क्षेत्रमा पुग्न सजिलो हुने र दूरीसमेत छोटो हुने उहाँको भनाई छ ।

उहाँले सम्झौता गरिएका सडकमा बजेटको अभावका कारण समेत समयमा काम सक्न कठिनाई भइरहेको बताउनुभयो ।