२४ वैशाख २०८१, सोमवार

निन्दा करिडरमा बन्यो खुला व्यायामशाला

१२ वैशाख २०८१, बुधवार
Image

धुलाबारी, १२ वैशाख । बिगतमा फोहोर फाल्ने डम्पिङ साइट बनेको निन्दा करिडर अचेल धुलाबारीबासीको घुमफिर गर्ने रमणीय स्थलमा परिणत भएको छ ।

निन्दा पुलदेखि दक्षिण खयरडाँगीको पुछारसम्मको नदी किनारलाई निन्दा करिडर भनिदै आएको छ । स्थानीय युवाले फोहोर फाल्न निषेध गरेर साप्ताहिक रुपमा सरसफाई अभियान चलाएपछि अहिले निन्दा करिडर मेचीनगरकै आकर्षक पर्यटकीय गन्तब्य बन्न पुगेको मेचीनगर वडा नं. १० का वडाध्यक्ष नारायण खनाल बताउनुहुन्छ ।

सोही करिडरमा वडा कार्यालयको रु. तीन लाख बजेट र स्थानीय योगदान गरी रु. तीन लाख ४५ हजार ७४० को लगानीमा खुला ब्यायामशाला निर्माण भएको छ ।

व्यायामशालामा आधुनिक उपकरण जडान गरिएका छन् भने बस्नका लागि सिमेन्टका संरचना समेत बनाइएका छन् ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले आज व्यायामशालाको उद्घाटन गर्दै खुशी व्यक्त गर्नुभयो ।

‘कुनै बेला दिउँसो मान्छे आउन समेत डराउनु पर्ने ठाउँ थियो,’ उहाँले शुभकामना मन्तब्यको क्रममा भन्नुभयो–‘अहिले व्यायामशाला बन्यो । अब सुन्दर बगैचा बनाउनु पर्छ ।’

उहाँले रोग लागेपछि औषधि र अस्पतालमा खर्च गर्नुभन्दा रोग लाग्नै नदिन व्यायामशाला धाउने बानी बसाउन नगरबासीलाई आग्रह गर्नुभयो ।

स्थानीयबासीको ठूलो जमघटका बीच रिबन काटेर नगरप्रमुख बुढाथोकीले ब्यायामशालाको उद्घाटन गर्नु भएको थियो । निन्दा करिडर प्रबर्धन समितिको अध्यक्ष धर्मेन्द्र खड्काको अध्यक्षता र सचिव निर्मल दाहालको उद्घोषणमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष गणेशविक्रम नेम्वाङ, नेकपा एमाले मेचीनगर–१० का पार्टी अध्यक्ष बलराम चिमरिया लगायतको उपस्थिति रहेको थियो ।