२३ वैशाख २०८१, आइतवार

नौ लाख पुगे वर्ल्डलिंकका ग्राहक

१४ वैशाख २०८१, शुक्रवार
Image

झापा, १४ बैशाख । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका ग्राहक नौ लाख पुगेका छन् ।

सन् २०१७ मा एक लाख ग्राहकलाई सेवा दिएको कम्पनीले सात वर्षमै नौ गुणाले ग्राहक बढाउन सफल भएको हो । वर्ल्डलिंकले यसलाई कोशेढुंगा भनेको छ ।

‘नौ लाख ग्राहक पुग्नु वर्ल्डलिंकप्रतिको विश्वास हो । हाम्रो सेवाले ग्राहकहरुमा आत्मविश्वास बढाएको छ’, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भन्नुभयो, ‘ग्राहकले वर्ल्डलिंकलाई विश्वास गर्छन् भन्ने प्रमाणित भएको छ । ग्राहकको लागि सेवा र क्षमता बढाउन प्रतिबद्ध छौँ ।’

वैदेशिक लगानी भित्रिनुअघि २०७४ वैशाखमा वर्ल्डलिंकका एक लाख एक हजार ग्राहक थिए । त्यसयता कम्पनीका ग्राहक निरन्तर बढ्दै गएका छन् । 

सन् २०१८ मेमा दुई लाख, २०१९ को फ्रेबुअरीमा तीन लाख, २०२० को डिसेम्बरमा चार लाख ग्राहक पुगेका थिए । त्यसपछि सन् २०२२ को नोभेम्बरमा सात लाख ग्राहक पुगेकामा हाल नौ लाख पुगिसकेका छन् ।

२९ वर्षे विरासत 

वर्ल्डलिंक सन् १९९५ मा स्थापना भएको थियो । इमेल सेवाबाट सुरु भएको कम्पनीले सन् १९९७ बाट डाइलअप इन्टरनेट सेवा दिन थालेको थियो ।  

सबैलाई जहाँ पनि सधैँ जोड्ने लक्ष्यसहित कम्पनी स्थापना भएको थियो । वर्ल्डलिंकले ग्राहकको मागअनुसार आफ्ना प्रोडक्ट प्रदान गर्दै आएको छ । मुख्यतः आवासीय, एसएमई र कर्पोरेट क्षेत्रलाई प्राथमिकता दिई सेवा विस्तार गरिरहेको छ । 

देशभर पुगेको वर्ल्डलिंकका १३० शाखा कार्यालय छन्। कम्पनीले ५ हजार ५०० बढीलाई रोजगारी दिइरहेको छ । कुल ७७ जिल्लामध्ये वर्ल्डलिंक पुग्न अब ३ वटा जिल्लामा मात्रै बाँकी छ । 

प्रत्यक्ष वैदेशिक लगानी, दुर्गमसम्म सेवा

दुर्गमका जिल्ला र पालिकामा वर्ल्डलिंकको सेवा विस्तार गर्न वैदेशिक लगानी भित्राएको छ ।

वर्ल्डलिंकले सन् २०१९ मा ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई)बाट रु. एक अर्ब ३५ करोड लगानी भित्राएको थियो । जसमध्ये एक अर्ब बीआईआईको प्रत्यक्ष लगानी थियो ।

एक वर्षअघि मात्रै कम्पनीमा बेलायती सरकारको पूर्ण लगानी रहेको बीआईआई र डोल्मा इम्प्याक्ट फन्डबाट एक अर्ब ९८ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो । जसमा बीआईआईको एक अर्ब आठ करोड र डोल्मा फन्ड इम्प्याक्ट फन्डको ९० करोड लगानी समावेश छ । 

वर्ल्डलिंकले कूल रु. तीन अर्ब ३३ करोड रुपैयाँ वैदेशिक लगानी भित्राएको छ । उक्त लगानी दुर्गम क्षेत्रको सेवा विस्तार र गुणस्तर वृद्धिमा खर्च गर्ने कम्पनीको भनाइ छ । 

सन् २०१२ मा वर्ल्डलिंकले ‘फाइबर टु द होम’ प्रविधि नेपाल भित्राएको थियो । सन् २०१८ मा कम्पनीले फिनल्यान्डको बहुउद्देश्यीय आईटी इन्फास्टक्चर फर्म नोकियासँग सहकार्य गरी एफटीटीएच नेटवर्क विस्तार गरिरहेको छ । १० लाख ग्राहकसमक्ष फाइबर नेटवर्क विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।

३३ प्रतिशत बजार हिस्सा 

वर्ल्डलिंक इन्टरनेट सेवा प्रदायकमध्ये राजस्वमा योगदान गर्ने सबैभन्दा ठूलो कम्पनी हो । नेपाली बजारमा इन्टरनेट सेवा प्रदायकमध्ये वर्ल्डलिंकको ३३ प्रतिशत बजार हिस्सा छ । ४० प्रतिशत इन्टरनेट ट्राफिक वर्ल्डलिंकको मात्रै छ । 

कम्पनी नेपालको सूचना प्रविधि र इन्टरनेट क्षेत्रमा गौरवपूर्ण इतिहास बनाउन सफल भएको छ । वर्ल्डलिंकले १५ हजार बढी सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ समेत उपलब्ध गराएको छ । 

वर्ल्डलिंकले ग्राहकका लागि सेवा ग्यारेन्टी अफर ल्याएको छ । वर्ल्डलिंकको २००, २५० र ३०० एमबीपीएसका प्याकेज सबैभन्दा लोकप्रिय छन् ।