१३ मंसिर २०८२, शुक्रवार

कोशी प्रदेश : चार महिनामै लैंङ्गिक हिंसाका २८६ मुद्धा दर्ता

१३ मंसिर २०८२, शुक्रवार
Image

झापा, १२ मङ्सिर ।   कोशी प्रदेशमा चालु आर्थिक बर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैंङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले साउनदेखि कात्तिकसम्ममा मुद्धा दर्ता भएकामध्ये २१४ फस्र्यौट भइसकेको जानकारी दिनुभयो । 

उहाँले सो अवधिमा सबैभन्दा बढी जबरजस्ती करणीका १७८वटा मुद्दा दर्ता भएको बताउनुभयो । बहुविवाहमा ३६ वटा, करणी उद्योगमा २७ वटा, बालयौन दुराचारका ३६ वटा, अबैध गर्भपतनका दुई वटा, बोक्सी आरोपका एउटा, जातीय छुवाछुतका एउटा, मानव बेचविखन तथा ओसारपसारमा दुई र अप्राकृतिक मैथुनमा एउटा मुद्धा प्रदेश प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

यसअघि लैङ्गिक हिंसाका वर्षेनी आठ सयभन्दा बढीको संख्यामा प्रदेशमा मुद्धा दर्ता हुँदै आएका छन् । आव २०८१/८२ मा कोशी प्रदेश प्रहरी कार्यालयमा ८३१ वटा मुद्धा दर्ता भएका थिए । सो अवधिमा ६९६ वटा मुद्धा फस्र्यौट भएका थिए ।

आव २०८०/८१ मा ८८४ वटा मुद्धा दर्ता भएकोमा ७८४ वटा फस्र्यौट भएका थिए । बिगतका दुबै वर्षमा सबैभन्दा बढी जबरजस्ती करणी, करणी उद्योग र बहुविवाहका मुद्धा प्रहरीमा दर्ता भएका छन् ।