१२ साउन २०८१, शनिवार

झापामा रक्तचन्दनलाई चौबीसै घण्टा पहरा

१ जेठ २०८१, मङ्गलवार
Image

झापा, १ जेठ । डिभिजन बन कार्यालय झापाको कार्यालयको दुई कोठामा सत्र बर्षेदेखि सुरक्षाकर्मीले चौबीसै घण्टा पहरा दिइरहेका छन् । ताला लगाइएका ती कोठाभित्र संकटापन्न बनस्पतिमा सूचीकृत रक्तचन्दन भण्डारण गरिएको छ ।

वि.सं. २०६३ र २०६४ मा भारतबाट तस्करीको माध्यमबाट नेपाल भित्रिएका १९ हजार ८३२ केजी (लगभग २० मेट्रिक टन) रक्तचन्दन नेपाल प्रहरीले झापाको टाघनडुब्बा लगायतका सीमावर्ती क्षेत्रबाट बरामद गरेको थियो । सुरक्षाका दृष्टिले सम्बेदनशील ठानेर कार्यालयको दुई कोठामा उसबेला भण्डारण गरिएका रक्तचन्दन अहिलेसम्म पहरा दिएर राखिएको छ ।

डिभिजन बन कार्यालय झापाका प्रमुख मेघराज राईले भण्डारणमा रहेको रक्तचन्दनलाई चौबीसै घण्टा पहरा दिएर सुरक्षित राखिएको बताउनुभयो । “बाहिर खुला ठाउँमा राख्दा हराउने सम्भावना हुन्छ भनेर कार्यालयको कोठाहरुमै भण्डारण गरिएको रहेछ,” उहाँले भन्नुभयो–“पालोपालो गरेर कोठा बाहिर बन रक्षकले अटुट पहरा दिइरहेका छन् ।”

कार्यालयको कोठामै बरामद सामान राख्नु परेको कारण कार्यालयको कामकाजमा कोठाको अभाव भइरहेको र चौबीसै घण्टा पहरा दिनु पर्दा जनशक्ति व्यवस्थापनमा समेत अतिरिक्त भार परिरहेको कार्यालयका प्रमुख राईले बताउनुभयो ।

झापासहित मुलुकका २० जिल्लाको बन कार्यालयमा यसरी नै चौबीसै घण्टा पहरा दिएर डेढ दशक अघिदेखि रक्तचन्दनको काठलाई नेपाल सरकारले सुरक्षित राखेको छ । सो रक्तचन्दन भारतबाट तस्करी गरेर चीन लैजान खोज्दा विभिन्न जिल्लामा बरामद भएको थियो । 

काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सप्तरी, सर्लाही, नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायत २० जिल्लामा यसलाई भण्डारण गरी सुरक्षाका साथ राखिएको छ । सबैभन्दा बढी रक्तचन्दन भण्डारण गरिएको काठमाडौंस्थित बन विभाग परिसरमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा धेरै संख्यामा सुरक्षाकर्मी खटिने गरेका छन् ।

दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस)को प्रावधान अनुसार संकटापन्न बनस्पतिको रुपमा सूचीकृत रक्तचन्दन तस्करी भएर जुन देशमा पुगे तापनि सम्बन्धित देशमा फिर्ता गर्नु पर्ने व्यवस्था छ । महासन्धिको प्रावधान बमोजिम नेपाल सरकारले बरामद रक्तचन्दनको बिक्री–वितरण गर्न नपाउने र उत्पत्ति भएको देशलाई नै फिर्ता गर्नुपर्ने डिभिजन बन कार्यालय झापाका प्रमुख राईले बताउनुभयो ।

नेपाल सरकारले बरामद भई मुलुकभित्र भण्डारण गरिएको रक्तचन्दन भारतलाई फिर्ता पठाउने मन्त्रिपरिषद् बैठकबाट हालै निर्णय भएको जनाउँदै उहाँले झापामा रहेको रक्तचन्दन फिर्ता हुने आशा पलाएको बताउनुभयो ।

उहाँका अनुसार नेपाल सरकारले औपचारिक रुपमा रक्तचन्दन फिर्ता लैजान आग्रह गरिसकेपछि भारत सरकारले आफ्नै खर्चमा ती सामान नेपालबाट उठाएर लैजानु पर्ने हुन्छ । यदि भारत सरकारले रक्तचन्दन फिर्ता लगेन भने पनि नेपाल सरकारले अन्य बिकल्प खोज्न अब ढिला गर्न नहुने उहाँको सुझाव छ । 

औषधि र धार्मिक कार्यमा प्रयोग हुने रक्तचन्दन एक प्रकारको रातो रंगको सुगन्धित काठ हो । महँगोमा बिक्री हुने भएकाले यसको तस्करी हुने गरेको छ । दक्षिण भारतको आन्ध्र पद्येश, कणौटक र तामिलनाडुमा यसको घना जंगल रहेको छ । त्यहीँबाट तस्करी भएर नेपालको अबैध बाटो हुँदै रक्तचन्दन चीनसम्म पुग्ने गर्दछ । नेपालमा सेतो चन्दनको मात्र बोट हुन्छ, रक्तचन्दन पाइँदैन ।

वि.सं. २०६३ मा नेपालमा पहिलोपल्ट तस्करीको माध्यमबाट भित्रिएको रक्तचन्दन झापा, रसुवा लगायतका जिल्लामा बरामद भएको थियो । नेपालले विभिन्न अवधिमा दुई लाख ४७ हजार ४८ किलो रक्तचन्दन बरामद गरेको वन विभागको अभिलेखमा देखिएको छ । जसमध्ये एक लाख ७३ हजार ७१ केजी रक्तचन्दन नेपालले २० जिल्लामा भण्डारण गरेर राखेको छ । 

नेपाल सरकारले वि.सं. २०६५, २०७१ र २०८१ गरी तीनपटक औपचारिक निर्णय गरी भारतलाई रक्तचन्दन फिर्ता लगिदिन आग्रह गरिसकेको छ । २०६५ सालमा भारत सरकारले ३६ हजार ९२८ केजी रक्तचन्दन फिर्ता लगेको थियो ।

यही बैशाख २७ गते मन्त्रिपरिषद् बैठकले झापालगायतका जिल्लामा रहेका सबै एक लाख ७३ हजार ७१ केजी रक्तचन्दन फिर्ता पठाउने निर्णय गरेको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।