८ कार्तिक २०८१, बिहिवार

अब बिरिङ र निन्दामा बाढी आउनु पहिल्यै घरघरमा एसएमएस आउने

६ जेठ २०८१, आइतवार
Image

झापा, ६ जेठ  । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ ।

पूर्वपश्चिम राजमार्गमा बनेको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले नै जानकारी दिने विभागका प्रवक्ता सुनिल पोखरेलले बताउनुभयो । यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो ।

विभागको प्राथमिकता प्राप्त नदी जोखिम न्यूनीकरण आयोजनामार्फत पूर्वपश्चिम राजमार्गमा पर्ने नदीका पुलमाथि बाढी मापन उपकरण जडान कार्य धमाधम भइरहेको उहाँले बताउनुभयो । मोरङ जिल्लाको बक्राहा नदीमा पनि यस्तै प्रणाली जडान भएको छ ।

“उपकरण जडान गर्ने काम भइसक्यो,” उहाँले भन्नुभयो– “प्रणालीमार्फत आउने जानकारीलाई विभागको वेबसाइटमा राख्ने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने काम चाँडै गर्नेछौं ।”

झापामा कनकाई, बिरिङ, निन्दा, मेची, रतुवा र मावा नदीको बाढीले वर्षेनी ठूलो क्षति पुर्याउँदै आएको छ । कनकाईमा जडान गरिएको उपकरणले दिने जानकारीका आधारमा नदी आसपासका बासिन्दालाई सतर्कताका लागि मोवाइल एसएमएस सन्देश पठाउने गरिएको छ ।

“अब बिरिङ र निन्दा नदीको आसपास तटीय क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दालाई पनि नदीको जलसतह बढेको जानकारी एसएमएसबाट बेलैमा दिने व्यवस्था गर्दैछौं,” उहाँले भन्नुभयो–“यसो भएमा बाढीबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न ठूलो सघाउ पुग्छ । जोखिममा रहेका समुदाय सुरक्षित हुन्छन् ।”

विभागले राजमार्गका मावा, रतुवा र मेची नदीमा यस्तै पं्रणाली जडान गर्ने योजना बनाएको जनाएको छ । भारतीय सीमा सुरक्षाकर्मीहरुले सहमति नदिएका कारण मेची नदीमा उपकरण जडान प्रयास भने असफल भएको छ । मावा र रतुवामा धमाधम काम भइरहेको छ ।

प्रणालीमा जडित स्वचालित उपकरणले बर्षा सुरु भएपछि १० मिनेटको अन्तरमा नदीमा बगिरहेको जलस्तर बारेमा काठमाडौं र झापास्थित सूचना केन्द्रमा जानकारी पठाउने काम गर्छ । त्यही जानकारीको विश्लेषण गरेर बाढी आउने सम्भावना बारे नदी तटीय क्षेत्रमा बसोबास गरेका सर्वसाधारणलाई सतर्कताको सन्देश प्रेषण गरिने उहाँले बताउनुभयो । 

बाढी मापन उपकरण जडान गरिएको स्थानभन्दा केही किलोमिटर उत्तर नदी छेउछाउमा स्वचालित वर्षामापन प्रणाली राखिएको छ । बिरिङका लागि बुधवारेमा र निन्दाका लागि बाहुनडाँगीमा वर्षमापन उपकरण राखिएको छ । ती उपकरणको सहायताले नदीको मुहानमा कति धेरै वर्षा भइरहेको छ भन्ने समेत जानकारी संकलन गरिन्छ ।

उहाँले नदीको पानीको वहाव र वर्षाको मात्रा जिल्ला प्रशासन कार्यालय झापामा राखिएको सूचना केन्द्रबाट हेर्न सकिने बताउनुभयो । नदी तटीय क्षेत्रका नेपाल टेलिकमको सिम भएका बासिन्दाको मोवाइलमा एसएमएस सन्देश पठाइने उहाँले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बाढी मापन तथा वर्षा मापन प्रणालीले बाढीका कारण उत्पन्न हुने विपत व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो । उहाँले बिगत लामो समयदेखि कनकाई नदीमा यो प्रणालीमार्फत बाढीको क्षति न्यूनीकरण भइरहेको बताउनुभयो ।