१२ साउन २०८१, शनिवार

झापा बाढीको उच्च जोखिममा, अढाई सय आश्रयस्थल तोकिए

२२ जेठ २०८१, मङ्गलवार
Image

सांकेतिक तस्वीर ।

झापा, २१ जेठ । जिल्लाका अधिकांश पालिकाहरु विपदको उच्च जोखिममा रहेकाले विपद व्यवस्थापनको तयारी तीब्र गतिमा भइरहेकोे जिल्ला विपद व्यवस्थापन समिति झापाले जनाएको छ ।

समितिले आपतकालीन आश्रय स्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्ने सक्ने घरधुरीको तथ्याङ्क संकलन गर्ने, पालिकाहरुमा फोकल पर्सन तोक्ने र विपद व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताउनुभयो । 

जिल्लाका पन्ध पालिकामध्ये बाढीको उच्च जोखिममा छ वटा पालिका रहेका छन् । गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा रहेको उहाँको भनाई छ ।

उहाँका अनुसार मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने हल्दिबारी, बुद्धशान्ति गाउँपालिका र विर्तामोड नगरपालिका न्यून जोखिममा रहेका छन् । 

यसबर्ष अत्याधिक बर्षा हुने मौसम विभागको प्रक्षेपण अनुसार समितिले जिल्लामा करिब आठ हजार ९१९ घरधुरी बाढीका कारण प्रभावित हुने आँकलन गरेको छ । जिल्लामा बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्य चौकीलगायतका २५० वटाभन्दा बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “समितिले विपद प्रतिकार्य योजना नै बनाएर अघि बढेको छ । जनधनको क्षति हुन नदिन सबै प्रकारका उपाय अलवम्बनको तयारी छ ।” प्रहरी, सेना, रेडक्रस र स्थानीय पालिका प्रमुखहरुसँग समन्वय गरेर विपद व्यवस्थापनका लागि एकीकृत योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला विपद व्यवस्थापन समिति झापाले मनसुनजन्य विपद पूर्व तयारी तथा प्रतिकार्य योजना नै तयार गरेर सरकारी तथा गैरसरकारी संघसंस्थासँग आवश्यक सामाग्रीको तयारी गर्न आग्रह गरेको छ ।

जिल्लामा धेरै प्रकारका विपद भए तापनि प्राथमिकीकरणको आधारमा पहिलो नम्बरमा बाढी प्रकोप भएकाले यसबाट जनधनको क्षतिलाई न्यूनीकरणका लागि स्थानीय सरकार, नेपाल रेडक्रस सोसाइटी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तयार रहेको उहाँको भनाई छ ।

उहाँले जिल्लाका मेची, निन्दा, रतुवा, मावा, कनकाई, विरिङलगायत दर्जनौं नदीबाट हुने सक्ने बाढी र डुबान प्रभावितलाई उद्धारका लागि लाइफ ज्याकेट, रबर बोट, रेस्क्यू हेल्मेट, प्लास्टिकजन्य ट्यूब र एम्बुलेन्स तयारी अवस्थामा राख्न सम्बन्धित निकायहरुलाई आग्रह गरिएको बताउनुभयो ।

बाढीका कारण जिल्लामा प्रत्येक बर्ष ठूलो धनजनको क्षति व्यहोर्नु परिरहेको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको तथ्याङ्क अनुसार सात बर्षमा बाढीकै कारण ६० जनाको मृत्यु भएको छ । वि.सं. २०७३ देखि वि.सं. २०७९ सम्ममा ६० जनाको मृत्यु र छ जना बेपत्ता भएको तथ्याङ्कमा उल्लेख छ ।