१२ साउन २०८१, शनिवार

मनसुनजन्य विपदबाट झापामा ४२ हजार प्रभावित हुने प्रक्षेपण

२४ जेठ २०८१, बिहिवार
Image

झापा, २४ जेठ । यस वर्षको मनसुनमा झापामा ४२ हजार भन्दा बढी मानिस बाढी र डुबानको समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले ‘विपद् प्रतिकार्य योजना २०८१’ अनुसार यस्तो अनुमान गरेर जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारी तीब्र तुल्याइएको जनाएको छ ।

समितिको प्रक्षेपण अनुसार १५ वटै पालिकाका नौ हजार घर परिवार मनसुनजन्य विपद्बाट प्रभावित हुनेछन् । जिल्लामा मनसुनजन्य विपद्मा बाढीको समस्या धेरै हुने गरेको विगतको तथ्यांकले देखाउँछ ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बाढीको उच्च जोखिमबाट समुदायलाई सुरक्षित राख्न सरोकारवाला सबै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।

उहाँले जिल्ला विपद् व्यवस्थापनको कोषमा रु. एक करोड ५० लाख सञ्चित रहेको बताउनुभयो । सो रकम बाढी लगायतका विपद्का कारण जिउधन गुमाउने परिवारलाई तत्काल राहत तथा उद्धार कार्यमा खर्च गरिने छ । मृतकका परिवारलाई रु. दुई लाख र घर क्षति भएका परिवारलाई रु. १५ देखि २० हजारसम्मका दरले कोषबाट राहत उपलब्ध गराइने जनाइएको छ ।

जिल्लाका १५ वटै पालिकामा अलग अलग विपद् कोष स्थापना गरिएको छ । जसमा पालिकैपिच्छे रु. १० देखि ५० लाखसम्म कोष रहेको छ । नेपाल रेडक्रस सोसाइटी राहत सामग्री, एम्बुलेन्स र स्वयम्सेवक दस्ता तयारी अवस्थामा राखेको छ ।

झापाका नौ वटा नदीमा आउने बाढीबाट सबैभन्दा धेरै प्रभावित हुने गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको अभिलेख अनुसार ती नदीहरुमा कनकाई, मेची, बिरिङ, रतुवा, कमल, बनियानी, निन्दा, हडिया र टाङटिङ नदीमा आउने बाढीबाट स्थानीय बासिन्दाहरु प्रभावित बन्ने गरेका छन् ।

दक्षिण पश्चिम झापाको बाढी र डुबानको जोखिममा रहेका बाह्रदशी, झापा र गौरीगञ्ज पालिकामा उद्धार तथा राहत कार्यका लागि रबर बोटको समेत व्यवस्था गरिसकेको प्रजिअ बाँस्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीको उच्च जोखिममा रहेको गाउँमा जुनसुकै बेला उद्धार तथा राहत पुर्याउन रबर बोटको व्यवस्था मिलाएका छौं । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसले यसका लागि समन्वय गरेर कार्य गर्नेछन् । जनधनको क्षति हुन नदिन सबैपक्षसँग समन्वय गरेर आवश्यक पूर्वतयारी गरिरहेका छौं ।” 

विपद व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् प्रतिकार्य योजना २०८१ अनुसार कनकाई नदीको कटान र डुबानले यसवर्ष झापा, गौरीगञ्ज, शिवसताक्षी र कनकाई पालिकाका दुई हजार २४९ घरधुरीका दश हजार ३४५ जना विस्थापित हुने सम्भावना छ ।

मेची नदीबाट मेचीनगर, भद्रपुर नगरपालिका र कचनकवलका एक हजार ९० घरधुरीका पाँच हजार १४ र विरिङ नदीबाट कनकाई, बाह्रदशी, कचनकवल, झापा, अर्जुनधारा र बुद्धशान्ति पालिकाका दुई हजार ११५ घरधुरीका नौ हजार ७२९ जना विस्थापित हुने सम्भावना छ । 

यसैगरी, रतुवा नदीबाट दमक, कमल, गौरादह र गौरीगञ्जका एक हजार ३३० घरधुरी, कमल र बनियानीबाट गौरीगञ्ज, शिवसताक्षी र कमलका एक हजार १५ घरधुरी, निन्दाबाट मेचीनगरका १५०, हडिया नदीबाट बुद्धशान्ति र मेचीनगरका ३५० घरधुरी, टाङटिङबाट अर्जुनधाराका २५० घरधुरी र देउनियाँ नदीबाट भद्रपुर र हल्दिबारीका ४४५ घरधुरी विस्थापित हुने देखिएको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।