२ कार्तिक २०८१, शुक्रवार

कोशी प्रदेशमा चट्याङबाट एक दशकमा २५४ जनाको मृत्यु

४ असार २०८१, सोमवार
Image

झापा, ३ असार । कोशी प्रदेशमा बिगत दश वर्षमा चट्याङ लागेर २५४ जनाले ज्यान गुमाएका छन् । मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सिर्जना गर्दै आएको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमल थापाका अनुसार वि.सं. २०७० देखि २०८० सम्मको एक दशकका मनसुनजन्य विपद्को विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति चट्याङबाट सिर्जना भएको बताउनुभयो ।

उक्त अवधिमा कोशी प्रदेशमा चट्याङका ६९८ वटा घटना भएका थिए । जसमा २५४ जनाको मृत्यु र ५८७ जना घाइते भएको उहाँले जनकारी दिनुभयो । प्रदेशभर एक दशकमा ७५७ परिवार चट्याङबाट प्रभावित भएका थिए ।

उपसचिव थापाका अनुसार एक दशकमा चट्याङबाट रु. तीन करोड ९५ लाख ५८ हजार ५०० बराबरको भौतिक सम्पत्तिको क्षति भएको छ । खेतमा कृषिको काम गरिरहेका किसानहरु चट्याङको शिकार बन्ने गरेका छन् ।

कोशी प्रदेशमा एक दशक अवधिमा मनसुनजन्य विपद्का २०६० वटा घटना भएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’मा उल्लेख छ । यस अवधिमा मनसुनजन्य विपद्बाट ५८३ जना मानिसको मृत्यु, १२० जना वेपत्ता र ७४९ जना घाइते भएका थिए भने १८ हजार ७२८ परिवार प्रभावित भएका थिए ।

मनसुनजन्य विपद्मध्ये बाढीका ४६४ वटा घटनामा १३२ जनाले ज्यान गुमाएका थिए भने ८२ जना वेपत्ता र २५ जना घाइते भएका थिए । पहिरोबाट सोही अवधिमा ६७२ वटा घटना भएका थिए । जसमा १९२ जनाले ज्यान गुमाउनु परेको थियो भने ३८ जना वेपत्ता र ११९ जना घाइते भएका थिए । 

एक दशकको मनसुनजन्य विपद्बाट भएको मानवीय क्षतिको विश्लेषण गर्दा लगभग आधाजति मानवीय तथा भौतिक क्षति चट्याङबाटै हुने गरेको छ ।

विपद् विज्ञ यशप्रसाद सुब्बाले विश्वको चट्याङ पर्ने पाँच ‘हटस्पट’मा नेपाल पनि पर्ने बताउनुभयो । जलवायु परिवर्तन र भौगोलिक स्थितिका कारण नेपालमा चट्याङको प्रकोप हुने गरेको छ ।

“प्रभावकारी अर्थिङको व्यवस्था नहुनु र सचेतनाको कमीका कारण चट्याङबाट बढी क्षति भइरहेको छ”–विपद् विज्ञ सुब्बा भन्नुहुन्छ । चट्याङ प्राकृतिक प्रकोप भए तापनि यसबाट हुने क्षति न्यूनीकरणका उपायहरु छन् । तर मानवीय लापर्वाहीले बढी क्षति हुने गरेको विज्ञहरु बताउँछन् ।

नेपालमा खेतमा काम गरिरहेका किसानहरु चट्याङको निशानामा पर्ने गरेका छन् । मानिस र पशु चौपायाको बढी संख्यामा मृत्यु भइरहेको छ । चट्याङबाट विद्युतीय उपकरणमा समेत ठूलो आँकडामा हुने क्षति हुने गरेको छ । 

कोशी प्रदेशमा यसवर्ष एक लाख १३ हजार ३५३ घरधुरी मनसुनजन्य विपद्बाट प्रभावित हुने अनुमान गरिएको छ । जसमध्ये ३७ हजार ८०० घरधुरी अझ बढी प्रभावित हुनसक्ने अनुमान गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ मा उल्लेख छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।