२३ भदौ २०८१, आइतवार

कोशी जलाधार क्षेत्रका ४२ वटा हिमताल विस्फोटनको जोखिममा

६ असार २०८१, बुधवार
Image

झापा, ५ असार । कोशी जलाधार क्षेत्रका ४२ वटा हिमताल विस्फोटनको जोखिममा रहेको विपद् व्यवस्थापन समिति कोशीले जनाएको छ । कोशी जलाधार क्षेत्रका तल्लो बरुण, हुङ्गुट, लुमदिङ्ग च्छो लगायतका हिमताल विष्फोटनको उच्च जोखिममा छन् ।  

समितिले हालै कार्यान्वयनमा ल्याएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’मा विष्फोटनको उच्च जोखिममा रहेका हिमतालहरुको आँकलन गरिएको छ । 

समितिका सदस्य यशप्रसाद सुब्बाका अनुसार अरुण नदीको जलाधार क्षेत्रमा सबैभन्दा बढी १७ वटा हिमताल फुट्ने उच्च जोखिम रहेको छ । जसमध्ये नेपालतर्फ चार वटा र तिब्बततर्फ १३ वटा हिमतालहरु पहिचान भइसकेको उहाँले बताउनुभयो । 

इसिमोड नामक संस्थाले विष्फोटनको उच्च जोखिममा रहेका हिमतालहरुको अध्ययन गरेको जनाउँदै उहाँले ठूला नदीहरुमा आकस्मिक बाढी आउने एउटा कारण हिमतालको विष्फोटन रहेको जानकारी दिनुभयो ।

नदी जलाधार क्षेत्रहरुमध्ये दूधकोशीमा नौ, तामाकोशीमा आठ र सुनकोशीमा चार वटा हिमताल फुट्ने उच्च जोखिममा रहेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’मा उल्लेख गरिएको छ ।

यसैगरी,  इसिमोडको अध्ययन अनुसार तमोर जलाधार क्षेत्रमा चार वटा हिमताल विष्फोटनको उच्च जोखिममा रहेका छन् । विश्वमा बढ्दो तापक्रमका कारण भइरहेका जलवायु परिवर्तन नै हिमतालहरु फुट्ने जोखिमको मुख्य कारण भएको विपद् विज्ञ एवम् विपद् व्यवस्थापन समिति कोशीका सदस्य सुब्बाले बताउनुभयो । कोशीमा आउने गरेको आकस्मिक एवम् ठूलो बाढीको कारण हिमताल विस्फोट नै रहेको जनाइएको छ । 

नेपालका पहाडहरु ५० लाख बर्ष अघि निर्माण भएको संसारकै कान्छा पहाड मानिन्छन् । चुरे क्षेत्रको पहाड अझ कम उमेरका अर्थात् १० देखि २० लाख वर्ष मात्रै पुराना मानिएको छ । युरेसियन र इन्डियन प्लेटको टक्करले गर्दा यो क्षेत्र उचालिदै गएको र त्यसबाट भिराला पहाड बढ्दै जाने विज्ञहरुले बताउने गरेका छन् ।

हिमताल विष्फोटनको जोखिम मनसुन सुरु भएपछि असोजसम्म रहने बताइन्छ । सम्भावित भूकम्पले पनि हिमाताल विष्फोटनको जोखिम निम्त्याउने गर्छ ।

वि.सं. २०७३ असार २१ गते हिमतालको बाँध भत्किएर भोटेकोशीमा भीषण बाढी आएको थियो भने २०७४ बैशाख ७ गते हिमताल फुट्दा बरुण नदीको पानीले अरुण नदी थुनिएको थियो । २०७९ मा सप्तकोशी नदीमा आएको बाढीले उदयपुरको दुई हजार ५०० घरधुरीलाई प्रभावित बनाएको थियो ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।