२ कार्तिक २०८१, शुक्रवार

बर्खा लागेसँगै रातभर निदाउँदैनन् गौरीगञ्जबासी

८ असार २०८१, शुक्रवार
Image

झापा, ६ असार । कालोमैलो भएर आकाशमा बादल मडारिने वित्तिकै गौरीगञ्ज गाउँपालिका–१ होक्लाबाडीकी ओस्नी राजबंशीको मन डरले काप्न थाल्छ । घर बगाउने र धनमाल बर्बाद हुनेभन्दा आफू र आफ्नो परिवारको ज्यान कसरी बचाउने भनेर उहाँ जस्तै गाउँबासी ठूलो पीरमा पर्ने गरेका छन् । 

गाउँ नजिकै बगेको कनकाईमा बाढी आउँदा वर्षौदेखि गाउँ डुबानमा पर्दै आएको उहाँले सुनाउनुभयो । होक्लाबाडीका अधिकांश बासिन्दा आदिबासी र विपन्न समुदायका छन् । बर्षा सुरु भएसँगै त्रसित उनीहरु कनकाई नदीमा पानीको वहाब बढेको छ कि छैन भनेर नियालिरहन्छन् । राति मस्त निन्द्रामा रहेका बेला वस्तीमा खोला पस्छ कि भन्ने पीरले रातमा समेत उनीहरु ढुक्कले निदाउन सक्दैनन् । उनीहरुका लागि प्रत्येक बर्षको बर्षायाम यसरी नै वित्ने गरेको छ ।

नदीलाई रोक्नका लागि भरपर्दो बाँधको व्यवस्था नहँुदा बर्षेनी बस्तीमा खोला पस्ने गरेको वडा नम्बर १ का सदस्य राजभक्त सुनुवारले बताउनुभयो । वि.सं. २०७४ सालदेखि नै जनप्रतिनिधिको रुपमा रहनु भएका उहाँले नदी रोक्न प्रदेश र संघीय सरकारको सहयोग नहुँदा समस्या भएको बताउनुभयो । 

उहाँले जनताको तटबन्धन कार्यक्रम मार्फत बाँध बाँध्न पटकपटक माग गर्दा समेत सुनुवाई नभएको बताउनुभयो । “हाम्रो पीडा कस्ने सुन्ने, बुझ्ने, पालिकाको थोरै बजेटले बाँध बाँध्न पुग्दैन,” उहाँले भन्नुभयो, “कुनबेला खोलामा बगेर मरिएला भन्ने त्रासमै बित्ने गरेको छ बर्खा ।”

होक्लाबाडी बाढीजन्य विपद्को उच्च जोखिम भएको झापाको मानव वस्ती हो । सो क्षेत्रका १०३ घर परिवारलाई पूर्वमा कनकाई र पश्चिममा कमल बनियानी खोलाले घेराबन्दी गरेको छ । यिनै दुई नदीले डेढ सयभन्दा बढी परिवारले बसोबास गर्दै आएको गौरीगञ्जकै सिमलडाँगी, टप्पुबस्ती र कुञ्जीबारीमा समेत उत्तिकै त्रास सिर्जना गर्दै आएको छ । 

वस्तीमा बाढी पस्ने वित्तिकै होक्लाबाडीका बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि इन्द्रेणी आधारभूत विद्यालयलाई आश्रयस्थल तोकिएको वडा सदस्य सुनुवारले बताउनुभयो । तर आश्रय स्थल नै असुरक्षित रहेको उहाँको दाबी छ । उक्त विद्यालय नै कनकाई र कमल बनियानीको बाढीको निशानामा रहेको उहाँको भनाई छ । 

बर्खाका बेला होक्लाबाडी क्षेत्रमा ओहोरदोहोरका लागि डुंगा नै चलाउनु पर्ने बाध्यता छ । पालिकाले सो क्षेत्रका बासिन्दाको सुविधाका लागि डुंगाको व्यवस्था गरिदिएको छ ।

गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलमति राजवंशीले गौरीगञ्जको वडा नम्बर १ र २ अन्य वडाको तुलनामा बढी विपद्को जोखिममा रहेको बताउनुभयो । उहाँले बर्षाका कारण हुने विपद्को सम्पूर्ण पूर्व तयारी पूरा गरिसकेको जानकारी दिनुभयो । “आपतकालीन अवस्थामा अपनाउनु पर्ने सबै सावधानीको तयारी गरेका छौं”, उहाँले भन्नुभयो, “राहत कोष र आवश्यक विपद् सामाग्रीको तयारीसँगै प्रभावित क्षेत्रको अवलोकनसहित तथ्याङ्क सकलन गरिसकेका छौं ।”

उहाँले स्थानीय सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संघसंस्थासँग समेत विपद् व्यवस्थापन संयन्त्र तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । वडा नम्बर १ कै कुञ्जिबारी, टाप्पुबस्ती, विर्खेवस्ती, माझी गाउँ पनि बाढीको उस्तै त्रासमा रहेको छ । जिल्लाका झापा, कचनकवल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा कनकाई नदीमा आएको बाढी गाउँमा पस्दा स्थानीयबासी विस्थापित हुन थालेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।