२ कार्तिक २०८१, शुक्रवार

झापामा प्रभावकारी बन्दै बाढीको अग्रिम सूचना दिने साइरन

१५ असार २०८१, शुक्रवार
Image

झापा, १४ असार । कनकाई नदीको बाढी दुई वर्षअघि वस्तीमा पस्दा सम्भावित क्षतिबाट साइरनले जोगाएको घटना शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजबंशीको स्मृतिपटमा ताजै छ ।

“रातको समय थियो, तीनपटक साइरनको चर्को आवज सुनेपछि परिवारका सबै सदस्य निन्द्राबाट ब्यूँझिएका थियौं,” उहाँले त्यसबेलाको घटना सम्झिदै भन्नुभयो–“हस्याङ् फस्याङ् गर्दै बूढी आमासहित नजिकैको विद्यालयमा सबैजना पुगेर ज्यान बचाएका थियौं ।” सुरक्षित आश्रयस्थलमा पुगेको केही समयपछि बाढी पसेर वस्ती जलमग्न भएको उहाँले स्मरण गर्नुभयो ।

जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईको तटीय वस्तीहरुमा वर्खा लागेपछि बाढीको साइरन बज्नु सामान्य जस्तै भइसकेको छ । इलाममा बर्षाको मात्रा बढ्नासाथ नदीमा बाढी आउने र वस्तीमा पस्ने घटना वर्षेनी दोहोरिने गरेको छ । बाढी आउनु पहिलै जानकारी दिने साइरन प्रविधि यहाँका वासिन्दाका लागि बरदान सावित भएको छ ।

बाढी रोक्न नसकिए पनि त्यसबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि जल तथा मौसम विज्ञान विभागले नेपाल रेडक्रस सोसाइटीको पहलमा जिल्लाका १५ र इलामका ११ वटा वस्तीमा बाढीको अग्रिम सूचना दिन साइरन जडान गरेको हो । मानव परिचालित ती साइरनलाई प्रविधियुक्त बनाएर स्वचालित बनाउने योजना अघि बढिसकेको किचकडाँगीस्थित सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक राजबंशीले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका विपद् व्यवस्थापन फोकल पर्सन हरिकृष्ण खड्काले कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका गौरीगञ्ज र झापा गाउँपालिका गरी चार पालिकाका बाह्र वटा वडाका १५ वटा वस्तीमा बाढीको पूर्वसूचना दिन दश वर्ष अघि नै साइरन जडान गरिएको जानकारी दिनुभयो ।

साइरन जडान भएको स्थानहरुमा कनकाई नगरपालिकाको वडा नं. ४ को त्रिवेणी टोल, झापा गाउँपालिकाको वडा नं. १,२,३ र ७ को मिलनबस्ती, सुगाबथान, उराउबस्ती, नयाँ बस्ती र टप्पुबस्ती रहेका छन् ।

खड्काका अनुसार शिवसताक्षी नगरपालिकाको वडा नं. ४,५,७,८ र १० को किचकडाँगी, बिसनडुब्बा, पुरानो बजार, टोपलावस्ती र सुकुम्बासी वस्तीमा समेत साइरन जडान भइसकेको छ । गौरीगञ्ज गाउँपालिकाको वडा नं. १ र २ स्थित बिर्खेवस्ती, होकलाबाडी, भाकुरमारी र होलाडाँगीमा साइरन सञ्चालनमै रहेको छ ।

इलामको माई नगरपालिकाको धोद्रे, चेप्टी, पालटार, भतभते, लक्ष्मी बाँध र बर्जेटार, देउमाई नगरपालिकाको जितपुर, ढोडेनी र मान्द्रे र माङ्सेबुङ गाउँपालिकाको इभाङ र चुनियाटोलमा पहिल्यैदेखि साइरन जडान भएको उहाँले जानकारी दिनुभयो । साइरनबाट जिल्लाको दुई हजार घरका १० हजार जनसंख्या र इलामको ४०० घरका दुई हजार जनसंख्याले बाढीको अग्रिम जानकारी पाउने गरेका छन् । 

वर्षेनी बाढीले वितण्डा मच्चाउने कनकाईको तटीय क्षेत्रमा बाढीको अग्रिम सूचना दिन जडान गरिएको साइरन प्रभावकारी बनेको स्थानीयवासी बताउँछन् । 

रेडक्रसकर्मी खड्का अनुसार साइरन बजेपछि मानवीय क्षति नहोस् भनेर सतर्कता अपनाउन स्थानीयवासी अभ्यस्त भइसकेका छन् । स्थानीय ५० देखि १५० वटा घरलाई एउटा ब्लक मानेर एउटा साइरन जडान गरिएको छ । समुदायमा गठन गरिएको विपद् व्यवस्थापन समितिले साइरनको रेखदेख र प्रयोग गर्दै आएको छ ।

झापा र इलामको सीमानामा पर्ने मैनाचुलीमा जलमापन केन्द्र र गैंडेमा बाढी मापन केन्द्र उपकरण जडान गरिएका छन् । ती केन्द्रले वर्षा र जलसतह मापन गरेर बाढी आउने अग्रिम जानकारी मोवाइल र ईन्टरनेटबाट स्थानीय समुदायलाई एसएमएसमार्फत पठाउने गर्छन् । त्यही एसएमएसका आधारमा गाउँमा साइरन घन्काउने गरिएको छ ।

“बर्षाका कारण नदीमा कति जलसतह बढ्न सक्छ भनेर विश्लेषण गरेपछि तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन एसएमएस पठाउने गरिएको छ,” साइरनबारे जानकारी दिदै रेडक्रसकर्मी खड्काले भन्नुभयो–“पहिलो साइरनले समुदायको ध्यानाकर्षण गराउँछ भने दोस्रोले सुरक्षित स्थानमा जान तयारीमा रहन संकेत गर्छ र तेस्रोपटकको साइरनले बाढी नजिकै आइरहेको जनाउ दिन्छ ।” उहाँले करिब ३० मिनेटमा तीन पटक साइरन बजिसक्दा वस्ती छाड्नु पर्ने नियम रहेको बताउनुभयो । 

शिवसताक्षी नगरपालिका– ४ का ५५ बर्षीय रेशमान दर्जीले गतवर्ष बाढी वस्तीमा पस्दा साइरन बजेकै कारण थाहा पाएको बताउनुभयो । उहाँले साइरन बजेपछि वस्तीका मानिसहरु सुरक्षित आश्रयस्थलतिर जाने गरेको बताउनुभयो । उहाँले विगतमा बाढी पसेको स्मरण गर्दै भन्नुभयो, “साइरन थिएन भने मरिन्थ्यो कि बाँचिन्थ्यो भन्ने टुंगो हुँदैनथ्यो ।”

रेडक्रसका फोकल पर्सन खडकाले ती साइरनहरु स्वचालित नभएर तोकिएका व्यक्तिले प्रयोग गर्ने मानव चालित प्रविधियुक्त रहेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक बर्षभित्रै जिल्लाका तीन स्थानमा बहुप्रकोपीय क्षेत्रको अध्ययन गरी स्वचालित साइरन जडान प्रक्रियामा रहेको बताउनुभयो ।

उहाँले कनकाई नदीले प्रभावित पार्ने गौरीगञ्ज गाउँपालिका–२ को कुञ्जिबारी, झापा गाउँपालिकाको कुमरखोदस्थित सडकबारी र विरिङ नदीको प्रभावित क्षेत्र बाह्रदशी गाउँपालिकाको भागडुब्बामा स्वचालित साइरन जडानको तयारी भइरहेको जानकारी दिनुभयो । 

उहाँले एक महिना अघि मात्र निन्दा र विरिङ नदीका पुलमा समेत बाढीमापन उपकरण जडान गरिएको बताउनुभयो । दुवै नदीमा जडान गरिएका उपकरणका लागि बर्षामापन प्रणाली भने बनाउन बाँकी रहेको उहाँको भनाई छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।