२ कार्तिक २०८१, शुक्रवार

शैक्षिक मुद्धामा व्युँतियो बाहुनडाँगी नागरिक समाज

५ साउन २०८१, शनिवार
Image

बाहुनडाँगी, ५ साउन । मेचीनगर वडा नं. १, २, ३ र ४ अर्थात् साविक बाहुनडाँगीको नागरिक समाजले शिक्षा क्षेत्रमा सुधारको लक्ष्यसहित अभियान सुरु गरेको छ ।

अभियानको पहिलो चरणमा आज भानु माध्यमिक विद्यालयमा चार वटै वडाका सरोकारवालालाई भेला गरेर अन्तरक्रिया आयोजना गरेको छ ।

यो भेलाको आयोजना बाहुनडाँगी नागरिक समाजले गरेको हो । २०६२/०६३ मा यो समाजले मुलुकमा राजनीतिक व्यवस्था परिवर्तनका लागि नागरिकलाई व्युँझाउने अग्रणी भूमिका निर्वाह गरेको थियो । 

अहिले शैक्षिक सुधारको मुद्धामा नागरिक समाज व्युँतिएको छ । समाजको अध्यक्ष निलकण्ठ तिवारी हुनुहुन्छ ।

आजको कार्यक्रममा स्थानीय वडाध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षकहरु, शिक्षासेवी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकार, विद्यालय प्रशासन र अभिभावकबीच कसिलो एवम् हार्दिक सहकार्य हुनुपर्ने साझा धारणा राखेका थिए ।

उनीहरुले हालैको एसइइ नतिजले सामुदायिक विद्यालयको गुणस्तरको अवस्था छर्लङ्ग बनाइदिएको चर्चा गर्दै एकले अर्को पक्षलाई दोषी देखाएर जिम्मेवारीबाट कसैले पनि उम्किन नहुने बताएका थिए ।

कार्यक्रममा सरस्वती माविका पूर्व प्रधानाध्यापक प्रेम क्षेत्री, दिपेन्द्र आधारभूत विद्यालयकी प्रधानाध्यापक शान्ता निरौला, कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक राजन गिरी, मेची जनासाधारण माविका प्रधानाध्यापक चन्द्रशेखर गुरागाई, सूर्य राई, पुष्कर ढकाल, विष्णु अधिकारी, टेकचन्द्र फुयाँल, हरि न्यौपाने, सोम आचार्य, विशालकृष्ण बाँस्तोला, गोविन्द न्यौपाने, ज्ञानेन्द्र ढुंगाना लगायतले शैक्षिक सुधारका लागि शिक्षक, अभिभावक र स्थानीय सरकारले खेल्नु पर्ने भूमिकाका बारेमा आफ्ना सुझाव राख्नु भएको थियो ।

भानु मावकी प्रधानाध्यापक खड्गकुमारी तिम्सिना, मेचीनगर वडा नं.. २ का वडाध्यक्ष दिपक बराल, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की लगायतले बोल्ने क्रममा शैक्षिक सुधार आजको पहिलो प्राथमिकता बन्नु पर्ने बताउनुभएको थियो ।

बाहुनडाँगी नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका कोषाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वागत मन्तब्य र समाजका महासचिव पोषककुमार दर्जी र ज्ञानेन्द्र ढुंगानाले उद्घोषण गर्नु भएको थियो ।