२३ भदौ २०८१, आइतवार

भारत र बंगलादेशमा रु. आठ करोडको जडीबुटी निर्यात

१० साउन २०८१, बिहिवार
Image

झापा, १० साउन । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०÷०८१ मा रु. आठ करोड १० लाख १४ हजार मूल्य मूल्य बराबरको जडिबुटी निर्यात भएको छ । 

निर्यात भएको जडिबुटीमा चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतावरलगायत रहेको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार उक्त आवमा रु. चार करोड ८० लाख ६० हजार मूल्य बराबरको १६० मेट्रिक टन चिराइतो निर्यात भएको छ । नेपालबाट निर्यात हुने जडिबुटी चिराइतो पहाडीमा प्रशस्त उत्पादन हुँदै आएको छ ।

कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथम, संखुवासभा, धनकुटा र भोजपुरलगायतका जिल्लामा चिराइतोको व्यावसायिक खेती हुँदै आएको छ । यहाँबाट निर्यात भएको चिराइतो भारत र बंगलादेश जाने गरेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, सोही अवधिमा रु. एक करोड ६५ लाख २० हजार मूल्यको ८३ मेट्रिक टन मजिठो, ९६ लाख ९४ हजार मूल्य बराबरको १५१ मेट्रिक टन रिठ्ठा, रु. ११ लाख ३४ हजार मूल्य बराबरको ११ मेट्रिक टन अमला, रु.१२ लाख मूल्य बराबरको २४ मेट्रिक टन चुथ्रोको कोक्रा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिनुभयो ।