२३ भदौ २०८१, आइतवार

बक्यौता नतिर्ने एघार सय ग्राहकको विद्युत काटियो

१२ साउन २०८१, शनिवार
Image

झापा, १२ साउन । नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रले आर्थिक वर्ष २०८०/०८१ मा महसुल बुझाउन अटेरी गर्ने एक हजार १७० ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहक पुनःजडानका लागि जाँदा जरिवानामा पर्ने गरेका छन् ।

केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार १३६ जनाले बक्यौता महसुल र जरिवाना तिरेर विद्युत पुनःजडान गरेका छन् । अब ३४ जना ग्राहकले मात्र बक्यौता तिर्न बाँकी रहेको छ ।

विद्युत काटिएका एक हजार १७० ग्राहकले प्राधिकरणलाई बुझाउनु पर्ने बक्यौता महसुल र जरिवाना रु. छ करोड ७० लाख २८ हजार ४१२ रहेको थियो । 

बक्यौता र जरिवाना तिरेर विद्युत पुनःजडान गर्ने एक हजार १३६ जना ग्राहकबाट रु. तीन करोड ९० लाख ९७ हजार ५६७ असुली भएको साहले जानकारी दिनुभयो ।

बक्यौता बुझाउन बाँकी रहेका ३४ जना ठूला ग्र्राहकसँग प्राधिकरणले रु. दुई करोड ७९ लाख ३० हजार ८४५ असुली गर्न बाँकी छ ।

प्राधिकरणले अनारमनी वितरण केन्द्रका २३७ जना ग्राहकलाई कालोसूचीमा राखेको जनाएको छ । जसबाट रु. एक करोड ३२ लाख ३१ हजार ६३ बक्यौता असुली गर्न बाँकी छ ।