९ माघ २०८१, बुधवार

रंगशाला निर्माणमा शिवसताक्षीको लोभलाग्दो लगानी

१ मंसिर २०८१, शनिवार
Image

झापा, १ मङ्सिर । खेलाडी उत्पादन गर्ने जिल्लाको रुपमा झापा परिचित छ । फुटबल, क्रिक्रेट, भलिवल, कराँते, बक्सिङ, जुडो लगायतका खेलमा झापाका खेलाडीको राष्ट्रियस्तरमै दवदवा छ ।

क्रिक्रेटकी रुबिना क्षेत्री हुन् या फुटबलका हरि खड्का, झापाले खेलकुदको माध्यमबाट मुलुकको नाम चम्काउन दिएको योगदान अतुलनीय छ । तर, जुनस्तरमा खेलाडीले सफलता पाउँदै आएका छन्, त्यसको तुलनामा झापामा खेलकुदको भौतिक पूर्वाधार निर्माणमा भने उल्लेख्य लगानी हुन सकिरहेको छैन ।

खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माणको टड्कारो आवश्यकता पूरा गर्न शिवसताक्षी नगरपालिकाले पछिल्लो समय स्थानीय रंगशाला निर्माणमा देखाएको तदारुकता भने लोभलाग्दो छ ।

मध्य झापामा रहेको शिवसताक्षी नगरपालिकाले वडा नं. ११ दूधे बजार नजिक २५ हजार दर्शक अट्ने आधुनिक सुविधासम्पन्न रंगशालाको निर्माण अन्तिम चरणमा पुर्याएको छ । नगरपालिकाले उक्त रंगशाला निर्माणमा रु. दुई करोडभन्दा बढी बजेट लगानी गरिसकेको छ ।

भद्रपुरमा रहेको मेची रंगशाला आधा शतक पुरानो जिल्लाको पहिलो रंगशाला हो । इतिहास निर्माण गरिसकेको उक्त रंगशलालाई पनि प्यारापिट, बत्ती लगायतको पूर्ण सुविधायुक्त अझै बनाउन सकिएको छैन । 

जिल्लामा समुदायस्तरमा निर्मित अर्को रंगशाला विर्तामोडमा रहेको छ । डोमालाल रंगशाला नामले परिचित यो रंगशाला स्थापनाकालदेखि नै जग्गा समस्यामा अल्झिएको कारण भौतिक पूर्वाधारमा लगानीको वातावरण बन्न सकेको छैन ।

मेचीनगरमा खेलमैदानहरु भए तापनि तिनलाई रंगशालाको स्वरुप दिने प्रयास थालिएकै छैन । दमक र  कमल पालिकामा दुईवटा प्रस्तावित रंगशाला छन् । अन्तर्राष्ट्रिय स्तरको बनाउने घोषणा गरिएका दुबै रंगशाला राजनीतिक मतभेदका कारणले नाम विवादमा अल्मलिएका छन् ।

शिवसताक्षी नगरपालिकाको गठन भएपछि जननिर्वाचित पहिलो जनप्रतिनिधिकालमा नै रंगशाला निर्माणको आधारशीला खडा गरिएको थियो । तत्कालीन प्रदेश नं. १ सरकारको समेत सहयोग जुटाएर नगरस्तरीय रंगशाला निर्माणका लागि तत्कालीन नगरप्रमुख चन्द्रकुमार शेर्माले मिहेनत गर्नु भएको थियो ।

उहाँको पालामा रंगशालाका लागि रतुवामाई वृक्षारोपण आयोजनासँग जोडिएको आठ बिगाहा जग्गामा रंगशालाका लागि घेराबारा बनाउने लगायतका परियोजनासम्बन्धी पूर्वाधारको काम अघि बढाइयो । त्यसबेला प्रदेश र स्थानीय पालिकाले रु. एक करोड बजेट रंगशालामा बिनियोजन गरेका थिए ।

नगरमा दोस्रो कार्यकालका लागि नगरप्रमुख मेगाहाङ थोप्राको नेतृत्वमा जनप्रतिनिधि निर्वाचित भएपछि अधुरो रंगशालालाई पूर्णता प्रदान गर्नका लागि प्राथमिकताका साथ काम अघि बढाइएको छ ।

गत आर्थिक वर्ष २०८०÷०८१ मा मैदान, चेन्जिङ रुम र मञ्च निर्माणमा नगरपालिकाले रु. एक करोड १० लाख बजेट बिनियोजन गरेको थियो । यसपाली आव २०८१÷०८२ का लागि पालिकाले रंगशालाको अधुरा काम सम्पन्न गर्न रु. ५० लाख बजेट छुट्याएको नगरप्रमुख मेगाहाङ थोप्राले बताउनुभयो ।

“जिल्लामा रंगशालाको आवश्यकता महसुस भइरहेको अवस्थामा हामीले सबैभन्दा ठूलो र सुविधासम्पन्न रंगशाला निर्माणमा बजेट केन्द्रित गरेका हौं,” उहाँले भन्नुभयो–“खेलकुलप्रेमीको भावना र आवश्यकतालाई ध्यानमा दिएर थालिएको सपना जस्तै रंगशालाको निर्माण अब सम्पन्न हुने चरणमा पुगिसकेको छ ।” 

रंगशालाको वरिपरि पक्की घेराबेरा पहिल्यै निर्माण भइसकेको थियो । पानी निकासका लागि ड्रेन पनि बनिसकेको छ । एकातर्फको प्यारापिट निर्माण पहिल्यै भइसकेको थियो भने अर्कातिरको प्यारापिट निर्माण चालू आवमै सम्पन्न भइसक्ने नगरपालिकाले जनाएको छ । चालू आवमै विद्युत, खानेपानी, शौचालय लगायतका अरु पूर्वाधार निर्माण हुने गरी पर्याप्त बजेट बिनियोजन भएको छ ।

खेल मैदानमा बाहिरबाट ल्याइएको मुलायम झार हुर्काइएको छ । यसैवर्ष मञ्च र प्यारापिट बनिसकेपछि रंगशालामा पहिलो गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गरिने उहाँले बताउनुभयो ।

शिवसताक्षी नगरपालिकाले रंगशाला निर्माणमा गरेको लगानीबाट स्थानीय खेलप्रेमी हर्षित छन् । शिवसताक्षीले नगरको गौरवको आयोजनाको रुपमा रंगशालामा गरिरहेको लगानी अरु पालिकाका लागि अनुकरणीय रहेको स्थानीय सरोज भट्टराई बताउनुहुन्छ ।

“धार्मिक र पर्यटकीय स्थलका कारण परिचित यस नगरलाई अब खेल पर्यटनका दृष्टिले चिनाउन सकिने अवस्था निर्माण हुँदै गएकोमा नगरबासी खुशी छन्,” भट्टराई भन्नुहुन्छ–“सडकमा गिटी बालुवा भर्नु र गाउँमा बिजुलीका खम्बा पुर्याउनु मात्र विकास होइन । खेलकुदमा भएको लगानीले नगरका युवाशक्तिलाई मानसिक र  शारीरिक रुपमा स्वस्थ, अनुशासित र लगनशील बनाउन अवश्य नै सहयोग पुग्नेछ ।”

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।