७ पुष २०८१, आइतवार

सहकारीको सफलता

चिया व्यवसायमा अब्बल बन्दै ‘एनएमसी’, रु. ११ करोडको निर्यात

७ मंसिर २०८१, शुक्रवार
Image

झापा, ७ मङ्सिर  नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले चिया व्यवसाय सञ्चालनको छोटो अवधिमै रु. ११ करोड ४३ लाख ६१ हजारको तयारी चिया भारत निर्यात गरेको छ ।

वि.सं. २०७८ सालदेखि संस्थाले चिया व्यवसाय सुरु गरेको थियो । हालसम्ममा संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यात गरेको संस्थाका व्यवसाय प्रमुख रविन्द्र पाण्डेले बताउनुभयो ।

“गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौं,” संस्थाले गरिरहेको चिया व्यवसाय बारे उहाँले भन्नुभयो–“चिया खेतीमा लागेका किसानहरु हाम्रो सहकारीको सदस्य हुनुहुन्छ । चिया खेती किसानहरुले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं ।”

इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा गरी संस्थाले तीन वटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । हावापानीका दृष्टिले इलाममा उत्पादित चियालाई अब्बल मानिने हुँदा पूर्वी इलामको सूर्योदय र माइजोगमाई पालिकाका चिया किसानहरुले उत्पादन गरेको हरियो पत्ती संस्थाले खरिद गर्दै आएको जनाएको छ । 

संस्थामा ३५० जना चिया किसान आवद्ध रहेको र चिया व्यवसायमा रु. १३ करोड लगानी भएको उहाँले बताउनुभयो । संस्थाको चिया व्यवसायमा मौसमी र नियमित गरी ५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

आफ्नै सहकारी संस्थाको नामबाट ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी र ग्रीन टी उत्पादन हुँदै आएको पाण्डेले जानकारी दिनुभयो । उत्पादन भएको तयारी चियामध्ये १० प्रतिशत मात्र स्वदेशी बजारमा खपत हुने र ९० प्रतिशत भारत निर्यात हुँदै आएको छ ।

संस्थाले आव २०७८÷०७९ मा रु. ७१ लाख २२ हजार ८७ मूल्य बराबरको १९ हजार ७९५ केजी चिया पहिलोपल्ट भारत निकासी गरेको थियो । आव २०७९÷०८० मा रु. दुई करोड दुई लाख, १३ हजार ६०६, आव २०८०÷०८१ मा रु. चार करोड ७९ लाख, ८५ हजार १८४ र चालू आव २०८१÷०८२ को कात्तिक मसान्तसम्ममा रु. तीन करोड ९० लाख ४० हजार १३१ मूल्यको तयारी चिया निर्यात भएको छ ।

बचत तथा ऋण कारोवार, कृषि फार्म, डेरी उद्योग र सहकारी सुपरमार्केट सञ्चालन गरिरहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले चिया व्यवसायको क्षेत्रमा हात हालेपछि चिया किसानहरु लाभान्वित भएका छन् ।

“किसानलाई हरेक महिनाको १५ गते अघिल्लो महिनाको हरियो चिया पत्तीको भुक्तानी बैंक खातामार्फत दिने गरेका छौं,” पाण्डेले भन्नुभयो–“बिचौलिया प्रथाको अन्त्य भयो । समयमै उचित मूल्य पाउँदा किसानलाई लाभ भएको छ ।”

बिगत दुई वर्षदेखि किसानहरुले चिया खेतीमा रासायनिक मलको प्रयोग गरेका छैनन् । किसानहरुलाई अर्गानिक विधिबाट खेती गर्न संस्थाले प्रोत्साहित गरिरहेको उहाँले बताउनुभयो ।