धुलाबारी, ११ मंसिर । मेचीनगर वडा नं. १० का वडाध्यक्ष नारायण खनालले धुलाबारी बजारको सडक अतिक्रमण पाँच दिनभित्र हटाइसक्ने बताउनु भएको छ ।
विश्व बैंकको रु. २७ करोड २१ लाखको सहयोगमा धुलाबारीदेखि बुद्धशान्तिको हापिनचोकसम्मको ५.३ किलोमिटर सडक दुई लेनसहित स्तरोन्नति हुने भएपछि आजदेखि मेचीनगर नगरपालिकाले धुलाबारी बजारमा सडक विस्तारका लागि डोजर चलाउन सुरु गरेको छ ।
मापदण्ड बमोजिम सडकको १२ मिटर चौडाई खाली गरिने उहाँले बताउनुभयो । “सडक क्षेत्र खाली गरिदिनुहोस् भनेर घरधनीहरुलाई धेरैपटक आग्रह गरियो, सूचना जारी गरियो,” वडाध्यक्ष खनालले भन्नुभयो–“उहाँहरुले आफै हटाउनु भएन । बाध्य भएर नगरपालिकाले डोजर चलाउनु परेको हो ।”
अब बन्ने सडक १२ मिटर चौडाको हुने र त्यसको दुईतर्फी डे«न तथा लेन हुने उहाँले जानकारी दिनुभयो ।
आज विहानदेखि नगरपालिकाका नगर प्रहरीहरु डोजरसहित त्यस्ता संरचना भत्काउन खटिएका छन् । दिउँसो १२ बजे अगावै धुलाबारी मोडदेखि एक सय मिटर उत्तर सडकको पश्चिम भागाका अतिक्रमित संरचनाहरु भत्काइएका छन् । भत्किएको स्थानबाट घरधनी तथा पसलेहरुले आफ्ना सामानहरु सुरक्षित स्थानमा सारेका छन् ।
धुलाबारी बजारमा सडकको क्षेत्र मिचेर बनाइएका ५२ वटा सटर हटाइने नगरपालिका स्रोतले जनाएको छ ।