३ पुष २०८१, बुधवार

‘कालो नुनिया’को संरक्षणमा जुट्यो शिवसताक्षी

२ पुष २०८१, मङ्गलवार
Image

झापा, २ पुस । शिवसताक्षी नगरपालिका लोप हुँदै गएको ‘कालो नुनिया’ प्रजातिको रैथाने धानको संरक्षणमा जुटेको छ । पालिकाले चार वटा वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ ।

अरु धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानहरुले बिगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मूख अवस्थामा पुगेको हो । मीठो स्वाद र सुगन्धका कारण नुनिया धान महँगो मूल्यमा बजारमा विक्री हुन्छ ।

शिवसताक्षी वडा नं. ७ मा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिसँग सहकार्य गरेर नगरपालिकाले नुनिया लगायतका रैथाने धानको बीउ संरक्षण र खेतीका लागि अभियान सञ्चालन गर्दै आएको नगरकी उपप्रमुख नरमाया कार्कीले बताउनुभयो ।

उहाँले वडा नं. १, ४, ७ र १० लाई कालो नुनिया धानको पकेट क्षेत्र घोषणा गरिएको जनाउँदै नुनियाको खेती गर्ने किसानलाई धान खेती गरेको जमिनको मात्राका आधारमा आर्थिक अनुदान समेत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

“पुराना रैथाने बालीमध्येको कालो नुनियालाई किसानको खेतबारीमा फलाउने हाम्रो प्रयास सफल भएको छ,” उपप्रमुख कार्कीले भन्नुभयो–“नगरपालिकाले किसानलाई बिउ र अनुदान दिने गरेको छ ।”

कालो नुनिया धानको भात मिठो हुने र प्रति मन रु. चार हजारको दरले विक्री हुने जैविक विविधता संरक्षण समितिका अध्यक्ष डिल्ली पौडेल बताउनुहुन्छ । समितिले किसानलाई कालो नुनियाको खेती गर्न प्रोत्साहित गरिरहेको हुँदा यसको खेती वर्षेनी विस्तार हुँदै गएको दावी गर्नुभयो ।

पछिल्लो समय कालो नुनिया धानको माग अत्याधिक बढेको हुँदा किसानले समेत खेतीमा चासो बढाएको उहाँको भनाई छ । समितिले यसपाली किसानलाई सात टन कालो नुनियाको विउ विक्री वितरण गरेको जनाएको छ ।

रैथाने बालीको संरक्षणका लागि शिवसताक्षीमा वि.सं. २०६५ मा समितिको स्थापना भएको थियो । त्यसको एक वर्षपछि शिवसताक्षी वडा नं ७ मा रैथाने बालीको बिउ बैंक स्थापना गरिएको थियो । विउ संरक्षणका लागि शिवसताक्षी नगरपालिकाले ५० प्रतिशत लागत व्यहोर्दै आएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । 

नगरपालिकाले कालो नुनिया धानमा प्रति पाँच कठ्ठा रु. पाँच सय अनुदान दिदै आएको छ । बिगत दुई वर्षमा अनुदानका लागि ९०० कठ्ठाको निवेदन परेको शिवसताक्षी नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले बताउनुभयो । नगरभित्र ६०० विगाहा क्षेत्रफलमा कालो नुनिया धान लगाइएको कृषि शाखा प्रमुख भट्टराईले दावी गर्नु भएको छ । 

समितिले शिवसताक्षीमा स्थापना गरेको बीउ बैंकमार्फत १२० प्रजातिका रैथाने धानको संरक्षण गरेको जनाएको छ । शिवसताक्षी–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको तीन कठ्ठा जग्गामा बीउका लागि १०७ प्रजातिका धान यसपाली फलाइएको समितिका अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले रैथाने धानको बीउ देशभरबाट संकलन गरेर एउटै खेतमा रोपेर फलाइएको जानकारी दिनुभयो ।

“जुम्लामा फल्ने मार्सीदेखि पहाडको इलाममा पाइने दूधराज प्रजातिको धान हामीले फलाएका छौं,” उहाँले भन्नुभयो–“पुराना धान र तरकारी बालीको बीउ नमासिउन् भनेर संरक्षणका लागि हामीले प्रयास गरिरहेका हौं ।”

नुनिया जस्तै बासनादार धानको रुपमा चिनिएको बासमतीका रातो, पहेँलो, कालो र टुँडे प्रजातिका धानसमेत यहाँ फलाइएको छ । त्यहाँ फलेका धानमा कतारखेरा, कालो टुँडे बासमती, जंगली मन्सुली, रुद्राक्ष, जुंगे कालो बासमती, नाजिर, रातो बच्छी, चुल्ठे, बेलगुठी, रातो हाप्सा, होडबच्छी, सेतो बासमती, हाडीफोर, भोटाङे, चम्पासरी, सानो चनाचुर, अनदी, धनकुटे, लालबच्छी, बिरिमफूल, छोटी बासमती, रातो बासमती, रातो अनदी, गोडरा, अम्बरध्वज, दिरुवा, बदलधान, अनदी सेतो, झहर धान, समल चौरी, कोमल धान, गौमा धान, कनकजिर बासमती, कालो रातो अनदी, जिरासरी, अट्टे, राँगा धान, दुधराज, रासधान, मार्सी, अण्डी धान, अनदी रातो, हंसराज, रातो स्थानीय, तिल्की, रातो टुँडे बासमती, श्यामजिरा, घिउकुमारी, दोसरा, ठूलो मनसरा, सिकिचन, रामबेला, आपझुत्ते, जर्नेली र घिउपुरी रहेका छन् ।

त्यसैगरी, झिनुवा, मिडिया अनदी, थापाचिनी, सेते धान, कालो नुनिया ठूलो, साधारण कालो नुनिया, कालो नुनिया–१, कालो नुनिया–१०, हरिनकेर, परेवा प्वाँख, बामन चिनी, मधुमाला, मधुकर, पुलिङटार, कालो तृलसी, कस्तुरी, बुढीडाइन–३, बंगलादेशी, अनमोल ५५, अनमोल कालो टुँडे र बाघ जुंगे धान फलाइएको छ ।

नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फेले नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र रैथाने धान संरक्षणमा सहयोग गरिरहेको बताउनुभयो । 

कञ्चन जैविक विविधता संरक्षण समितिले धान मात्र नभई हिउँदे बालीको पनि विउ उत्पादन गरी संरक्षण गर्दै आएको छ । जसमा दुई जातिको मकै, तीन जातिको कोदो, दुई जातिको फापर, आठ जातिको कार्तिके बोडी, १३ जातिको हिउँदे सिमी, पाँच जातिको फर्सी, पाँच जातिको लौका, छ जातिको घिरौला, तीन जातिको मास, एक जातिको करेला, एक जातिको बकुल्ला, दुई जातिको पोइसाग, एक जातिको तोरी, एक जातिको फिलुङ्गे र एक जातिको पोथ्रे सिमी रहेको छ ।