२४ पुष २०८१, बुधवार

सर्टमा टाँक लगाएर मासिक रु. सत्तरी हजार कमाई

२३ पुष २०८१, मङ्गलवार
Image

झापा, २३ पुस ः सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार मुनाफा गर्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ । तर, मेचीनगर नगरपालिका–११ का ४२ बर्षीय दिनानाथ खतिवडाले सो व्यवसाय चलाएर उक्त कमाई गरिरहनुभएको छ ।

दश बर्ष मलेशियामा बसेर स्वदेश फर्कनु भएका खतिवडाले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गरी परिवारसँगै रहेर आयआर्जन मात्र होइन स्थानीयलाई रोजगारी समेत दिनुभएको छ । 

उहाँले विगत तीन बर्ष अघि रु. पाँच लाखको लगानीमा मेचीनगर–१० चाँदनी चोकमा सुरु गरेको व्यवसायमा स्थानीय क्षेत्रका गार्मेन्ट उद्योगमा उत्पादन गरिने कपडाहरु आउने गर्छ । गार्मेन्टमा तयारी रहेको सर्ट, कुर्थाहरुको टाँघर बुन्ने र टाँक लगाउने काम उहाँले गर्दै आउनुभएको छ । 

“सीप र पूँजी छ भने मान्छे भोकले मर्दैन”, उहाँ भन्नुहुन्छ, “आफ्नै देशमा परिवारसँगै बसेर मनग्ये आम्दानी गर्न सकिन्छ ।” मलेशियामा १० बर्ष गार्मेन्टमा यही काम गरेर स्वदेश फर्कनु भएका खतिवडा सीप र पूँजी दुवै भएपछि व्यवसाय सुरु गरेको बताउनुहुन्छ । 

उहाँले जिल्लाको मेचीनगर, शनिश्चरे, विर्तामोड, भद्रपुर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा ठूला साना गार्मेन्टमा उत्पादन गरिने सर्ट, कुर्थाहरुको टाँघर बुन्ने र टाँक लगाउने काम गर्दै आएको बताउनुहुन्छ । उहाँले पाँच जना युवाहरुलाई सीप सिकाएर रोजगारी समेत प्रदान गरेको बताउनुभयो ।

“हेर्दा सानो काम जस्तो देखिन्छ”, उहाँले भन्नुभयो, “तर विगतमा यही काम यहाँ गर्ने मान्छे नहुँदा भारतको सिलगुढी पुर्याउनु पर्ने झन्झट रहेछ । त्यो बाट गार्मेन्ट सञ्चालक पनि मुक्त भए हामीले पनि स्थानीय क्षेत्रमा रोजगारी पायौं ।” उहाँले हाल एउटै मेसिनबाट दिन र रातमा पनि काम गरिरहेको बताउनुभयो । भविष्यमा स्थानीय सरकारको पनि सहयोग पाएमा मेसिनहरु थपेर धेरैलाई सीप सिकाउने र रोजगारमुखी बनाउने योजना बनाएको उहाँको भनाई छ ।

उहाँले पुस र माघको जाडो समयमा कम काम आउने र गर्मी मौसमबाट बढी काम आउने बताउनुभयो । उहाँले मेसिनबाटै टाँघर बुन्ने र टाँक लगाउन काम गर्ने गरेको बताउनुभयो । बैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण (रेमी) परियोजनामार्फत उहाँको उद्यमलाई प्रवद्र्धन गर्न स्थानीय पालिकासँग समन्वय गर्ने काम गरिरहेको मेचीनगर नगरपालिकाका रेमी परियोजनाका संयोजक फडिन्द्र दाहालले जानकारी दिनुभयो ।

नेपाल सरकार र स्वीस सरकारको संयुक्त लगानीमा सुरु गरिएको यो परियोजनाले विगत दुई बर्षदेखि मेचीनगर नगरपालिकालगायत कोशीका १० वटा पालिकामा काम गरिरहेको छ ।