झापा, २९ पुस । द गोर्खा मेमोरियल फन्ड बेलायतले मेचीनगर–१० स्थित धुलाबारी माध्यमिक विद्यालयलाई प्रविधिमैत्री कक्षा सञ्चालनका लागि ३१ थान कम्प्यूटर सहयोग गरेको छ ।
बेलायतको फोक्सटन सिटीको पहिलो नेपाली मूलको काउन्सिलर समेत रहिसक्नु भएका फन्डका अध्यक्ष धनकिरण गुरुङको पहलमा रु. ३२ लाख मूल्यका अत्याधुनिक कम्प्यूटरसहित टेबल, कुर्सी र कार्पेट आइतवार विद्यालयलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।
धुलाबारी माध्यमिक विद्यालयमा तीन हजार ५७३ विद्यार्थी अध्ययनरत् रहेको र तीमध्ये ९०० जनाले कम्प्यूटर विषयमा अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले बताउनुभयो ।
फन्डका अध्यक्ष धनकिरण गुरुङले आफुले प्रारम्भिक शिक्षा हासिल गरेको विद्यालयलाई ४२ वर्षपछि सहयोग प्रदान गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले बेलायतमा जस्तै नेपाली विद्यार्थीले प्रविधिमैत्री शिक्षा प्राप्त गर्न मदत पुगोस् भनेर सहयोग जुटाउने गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले बेलायती सेनाबाट निवृत्त धनकिरण गुरुङको पहलमा प्राप्त भइरहेको सहयोगप्रति आभार व्यक्त गर्दै मेचीनगर र बेलायतको फोक्सटन सिटीबीच वि.सं. २०६४ मा भगिनी सम्बन्ध गाँस्ने कार्यमा गुरुङकै भूमिका रहेको जानकारी दिनुभयो ।
फन्डका ट्रस्टी रे जोन्सनले गोर्खा सैनिकहरुको योगदान बेलायतले कहिल्यै भुल्न नसक्ने जनाउँदै सामाजिक सेवाका लागि भौगोलिक सीमाले नछेक्ने बताउनुभयो । उहाँले मेचीनगरका कम्प्युटर प्राविधिकहरुलाई बेलायतमा लगेर दक्षता सम्बन्धी तालिम दिने योजना बनाइरहेको जानकारी दिनुभयो ।
फन्डले दुई वर्षअघि मेचीनगर–६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालयलाई रु. २८ लाख मूल्य बराबरको ३१ वटा कम्प्यूटरसहितको प्रविधि प्रयोगशाला प्रदान गरेको थियो । रोल्पाको थवाङस्थित वीर बलभद्र माविलाई समेत फन्डले यसअघि प्रविधिमैत्री कक्षाका लागि कम्प्यूटर प्रयोगशाला निर्माण गरिदिएको थियो ।