५ माघ २०८१, शनिवार

रास्वपामा बोल्नै नपाइने हो ?

५ माघ २०८१, शनिवार
Image

झापा, ५ माघ । पुराना पार्टीहरुभित्र लोकतन्त्र छैन भनेर आलोचना गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नै नेतालाई अभिव्यक्ति दिएकै आधारमा निलम्बन गरेको छ ।

रास्वपाले कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई हालै निलम्बन गरेको हो ।

तिम्सिनाले केही दिन अघि सहकारी ठगी अभियोगमा मुद्धा खेपिरहेका सभापति रवि लामिछानेले पार्टी नेतृत्व सम्हाल्न नभ्याएका कारण पूर्व महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउनु पर्ने धारणा राख्नु भएको थियो ।

तिम्सिनाले पार्टीका कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेखेरै ढकाललाई जिम्मेवारीमा फर्काएमा पार्टीको पुरानो साख फर्किने बताउनु भएको थियो ।

यही धारणा राखेको आधारमा तिम्सिनलाई पार्टीले निलम्बन गरेको हो ।

नेकपा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मिनबहादुर गुरुङसँग सहयोग लिएको विषयमा विरोध जनाएका दुई नेतालाई पनि निलम्बन गरिएको थियो । 

उक्त विषयमा रास्वपा कार्यकर्ताहरुले एमालेभित्र लोकतन्त्र नभएको र एमाले अध्यक्ष केपी शर्मा ओली निरंकुश भएको टिप्पणी गर्दै आएका छन् ।

नेकपा एकीकृत समाजबादी पार्टीले पनि अध्यक्ष माधव नेपालको विषयमा लेख लेखेर आलोचना गरेको भन्दै पार्टीको पत्रकार संगठन समाजबादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुबेदीलाई स्पष्टिकरण सोधेको थियो ।

स्पष्टिकरण सोधेपछि सुबेदीले संगठनको उपाध्यक्ष, महासचिव लगायतका केन्द्रीय पदाधिकारीसहित नेकपा एस परित्याग गर्दै नेकपा एमालेको पत्रकार संगठन प्रेस चौतारीमा प्रवेश गर्नुभयो ।