३० फागुन २०८१, शुक्रवार

अहिले भर्खरै

पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, प्राधिकरणका दुई कर्मचारी पक्राउ

५ माघ २०८१, शनिवार
Image

झापा, ५ माघ । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति तथा पूर्व मुख्यमन्त्री उद्धव थापामाथि आज साँझ ७ बजेतिर सुरुंगामा आक्रमण भएको छ ।

प्रहरीले आक्रमणमा संलग्न दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबै जना नेपाल विद्युत प्राधिकरणका कर्मचारी रहेको बुझिएको छ ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आज दिउँसो आयोजना गरेको वार्षिक साधारणसभामा थापा प्रमुख अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा सुरुंगाको जुकेकल्भर्ट नजिक एउटा समूहले सुरक्षामा खटिएका पीएसओ समेतसँग विवाद गर्दै पूर्वमुख्यमन्त्री थापामाथि हातपात गरेको थियो । 

आँखा र अनुहारमा चोट लागेपछि उहाँलाई तत्कालै विर्तामोडको विर्तासिटी अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । 

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पूर्वमुख्यमन्त्री थापामाथि हातपात गरेको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्रेको र उनीहरु नेपाल विद्युत प्राधिकरणको कर्मचारी रहेको पुष्टि गर्नुभयो ।

पूर्वमुख्यमन्त्री थापा बा१झ ६५३ नम्बरको गाडी चढेर निवास फर्किदै हुनुहुन्थ्यो । उहाँलाई आक्रमण गर्ने कर्मचारीहरु प्राधिकरणको बा१झ १८७० नम्बरको गाडीमा चढेका थिए ।

प्राधिकरणको गाडीसँग थापा सवार गाडीले अगाडि बढ्न साइड माग्ने क्रममा सुरुमा पीएसओसँग विवाद भएको थियो । त्यही विवाद बढ्दै जाँदा कर्मचारीले थापामाथि हात हालेका थिए । 

उपचारपछि थापा आफ्नो निवास फर्किसक्नु भएको छ ।