विर्तामोड महोत्सव
विर्तामोड महोत्सव
झापा, ८ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको पहलमा रु. दुई अर्ब ४५ करोडको लगानी साझेदारीमा ४०० किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माण भइरहेको बताउनु भएको छ ।
विर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक तथा व्यापार महोत्सवको आज उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्धन, स्थानीय उत्पादनको बजारिकरण र मौलिक संस्कृतिको जगेर्नाका लागि कोशी प्रदेशको पहाडी जिल्लाहरुमा चार वटा पदमार्गको निर्माण चालू आर्थिक वर्षमै सुरु गरिएको बताउनु भयो ।
पहाडी जिल्लालाई समेटेर मुन्धुम पदमार्ग, लालीगुराँश पदमार्ग, चिया पदमार्ग र महागुरु फाल्गुनन्द पदमार्गको निर्माण भइरहेको उहाँले बताउनु भयो ।
चार वटा पदमार्ग निर्माणमा रु. दुई अर्ब ४५ करोड लगानी हुने जनाउँदै उहाँले त्यसका लागि स्वीट्जरल्यान्ड सरकारबाट रु. एक अर्ब ३५ करोड अनुदान प्राप्त हुने जानकारी दिनुभयो । ती परियोजनामा नेपाल सरकारले रु. २० करोड, कोशी प्रदेश सरकारले रु. ४५ करोड र २९ वटा पालिकाले रु. ४४ करोड लगानी साझेदारी गर्ने उहाँको भनाई छ ।
चालू आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि काम सुरु भइसकेको उल्लेख गर्दै उहाँले वि.सं. २०८५ को साउन महिनाभित्र चार वटै पदमार्गको निर्माण सम्पन्न हुने लक्ष्य राखिएको बताउनुभयो ।
इलामको सूर्योदय नगरपालिकामा बन्ने चियाबारी पदमार्ग १९ किलोमिटर लामो हुने, पाँचथरको फिदिमबाट इलामको सन्दकपुरसम्म छ वटा पालिका जोड्ने महागुरु फाल्गुनन्द पदमार्ग ६८ किलोमिटर लामो हुने, तेह्रथुमदेखि खोटाङसम्मका पहाडी जिल्ला जोड्ने लालीगुराँश पदमार्ग १६० किलोमिटर लामो हुने र उदयपुरदेखि भोजपुर, संखुवासभा र खोटाङ जोड्ने मुन्धुम पदमार्ग १६८ किलोमिटर लामो हुने उहाँले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा कृषि, पर्यटन र व्यापारको ठूलो सम्भावना रहेको हुँदा २०८२ साललाई कोशी पर्यटन वर्षको रुपमा मनाउने प्रदेश सरकारले घोषणा गरिसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“हाम्रा पहाडहरुलाई अब उजाड, बन्जर र बाँदरको राज्य हुन दिइने छैन ।”
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले लगानी भित्राउने लक्ष्यका साथ लगानी सम्मेलन गर्न लागिरहेको र सम्मेलनमा कृषि, पर्यटन लगायतका क्षेत्रमा थुप्रै परियोजना सञ्चालनका लागि उल्लेख्य लगानी भित्राउने तयारी गरिएको बताउनुभयो ।
इलाम र सूर्योदयमा अन्तर्राष्ट्रिय चिया सम्मेलनको आयोजना हुने र त्यहाँ यूरोप, चीन, भारत लगायतका मुुलुकबाट १५० भन्दा बढी चियाका व्यापारीहरु भित्राउने प्रदेश सरकारको कार्यक्रम तय भइसकेको उहाँले जानकारी दिनुभयो ।
पहाडबाट रित्तिदै गएको जनसंख्यालाई पहाडतिरै फर्काउने र पहाडको उर्वर जमिनलाई कृषि र पर्यटनमा उपयोग गर्ने लक्ष्यका साथ प्रदेश सरकार अघि बढिरहेको जनाउँदै उहाँले बताउनुभयो ।
विर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा आज सुरु भएको विर्तामोड अन्तर्राष्ट्रियऔद्योगिक व्यापार महोत्सव माघ १९ गते समापन हुने महोत्सव आयोजक समितिका संयोजक विशाल थापाले जानकारी दिनुभयो । महोत्सवमा नेपालका स्थानीय उत्पादनसहित भारत, बंगलादेश र भूटानका उत्पादनहरु विक्रीका लागि राखिएका छन् ।