भैरहवा, माघ १५ । युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल, भैरहवाको ‘नशा तथा मानसिक रोग विभाग’को २४औं वार्षिकोत्सवको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ । कार्यक्रम यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका ‘नशा तथा मानसिक रोग विभाग’ प्रमुख प्रा.डा.सन्दिप सुवेदीको सभापतित्व तथा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा आवासिय चिकित्सक डा.अभिज्ञा कोइरालाले मानसिक स्वास्थ्यको महत्व र चुनौती सम्बन्धमा प्रस्तुत गर्नुभएको थियो । यसैगरी डा.अनमोल बन्धु कार्कीले भने यु.सि.यम.यस.मा ‘नशा तथा मानसिक रोग विभाग’ को स्थापना, संक्षिप्त इतिहास तथा भावि योजनाको सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।
यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा ‘नशा तथा मानसिक रोग विभाग’ को स्थापना २५ जनवरी २००१ मा भएको थियो । गएको आर्थिक वर्षमा यस विभागले ओपिडी सेवा मार्फत करिब ३३,६४५ जना विरामीहरुको उपचार गरेको थियो । जसमा ४२ प्रतिशत पुरुष र ५८ प्रतिशत महिला रहेको थियो । यसैगरी सोही अवधिमा करिब १,०९७ विरामी अस्पतालमा भर्ना भई उपचार गरेको थियो । जसमा अधिकांश विरामीहरु २१ देखि ३० वर्ष उमेर समुहको रहेको थियो ।
विभागले यस वर्षदेखि सञ्चालनमा ल्याएको अत्याधुनिक ई.सि.टी. सेवा र आई.क्यु.परिक्षण सेवाका बारेमा पनि प्रकाश पारेको थियो । विभागले आउँदो दिनमा बालबालिका तथा व्यष्कहरुको मानसिक स्वास्थ्य, छारे रोग, लागु औषध कुलत तथा पुनस्र्थापना इत्यादि सम्बन्धमा अझ विशिष्ट परामर्श तथा उपचारका लागि ‘विशिष्ट क्लिनिक’ सञ्चालनमा ल्याउने बताएको थियो ।
कार्यक्रममा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले यस विभागको प्रगति सन्तोषजनक रहेको, भोलिका दिनमा यसको विकाश र विस्तारमा अस्पतालले अझ बढि लगानी गर्ने बताउनुभयो । कार्यक्रममा सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा.साधन मुखी, डा.सन्जिव शाह, डा.श्रेया पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन डा.कञ्चन गिरी तथा डा.मोहम्मद नसिम अकरम मिकरानीले संयुक्त रुपमा गर्नु भएको थियो ।