१९ चैत २०८१, बुधवार

दमकको बिजनेस टावरलाई ‘टेक्नोलोजी टावर’ बनाउन सुझाव

२७ माघ २०८१, आइतवार
Image

झापा, २७ माघ । दमकमा निर्माण भइसकेको बिजनेस टावरको प्रयोग कसरी गर्ने भन्ने बारेमा विभिन्न मतहरु आइरहेका छन् ।

यसैबीच, प्रभु बैंकका सीइओ अशोक शेरचनले बिजनेस टावरको उपयोग बारेमा १५ वटा उपाय दिनु भएको छ । उहाँले सामाजिक सञ्जालमा आफ्ना धारणा राख्नु भएको हो । 

यस्तो छ उहाँको धारणा ।

“आज अनयासै दमकको दमक बिजनेस कम्प्लेक्स पुग्ने अवसर जुर्यो । यसका बारेमा धेरै चर्चा परिचर्चा बिगतमा भएकोे छ ।

मैले आज त्यहाँ पुगेपछि यस्को उपयोगिताका बारेमा बहुपक्षीय सम्भावनाहरु बारे मनन गर्दै गर्दा मलाई लागेको कुराहरू राख्दै छु ।

१) अठार तले यस टावरको बिहंगमताले भविष्यमा त्यस क्षेत्रको बैभवता झल्काउने छ । जसरी धरहरा, घन्टाघर, सिंहदरबार र शहिदगेटले काठमाडौंको बैभवता झल्काइरहेको छ । यी धरोहरहरु कल्ले बनाए भनेर हामी भन्दैनौ, तर गर्वले शीर भने उचो बनाउँछौ ।

२) यस टावरलाई प्रविधि टावर (Technolgy Tower)को रूपमा विकास र बिस्तार गर्नुपर्छ ।

३) जहाँ एउटा तलामा नेपालमा नेपाल टेलिकमको बिगत, बर्तमान र भविष्य देख्न पाइयोस् । सँगै टेलिकमका दुई चार सय कर्मचारी उक्त टावरमा प्रविधिका काममा कार्यरत रहुन् ।

४) त्यसैगरी एनसेलको आगमन, अवस्था र उडान भविष्यको अर्को तलामा देख्न पाइयोस् । सँगै एनसेलका दुई चार सय कर्मचारी उक्त टावरमा प्रविधिका काममा कार्यरत रहुन् ।

५) भारतको प्रसिद्ध प्राविधिक कम्पनी इन्फोसिस जो नेपालको लगभग सबै बाणिज्य बैंकहरुलाई कोर बैंकिङ सफ्टवेयर आपूर्ति गर्ने कम्पनी पनि हो, उसको प्रदर्शनी कक्ष र प्रयोगशाला एवं केही सय कर्मचारीहरु अर्को तलामा ।

६) चिनियाँ प्राविधिक कम्पनी हुवावे जसको उपस्थिति नेपाली बजारमा प्रशस्त देखिन्छ, उसको प्रदर्शनी कक्ष र प्रयोगशाला एवं केही सय कर्मचारीहरु अर्को तलामा ।

७) नेपाली सडकमा हिजोआज Electric vehicle (EV) को संख्या दिनहुुँ बढिरहेको छ र भविष्यमा यो क्रम अझ बढने छ, त्यसो हुँदा BYD लगायतका कम्पनीहरुलाई EV प्राविधिकहरुको विकासका लागि प्रशिक्षण केन्द्र खोल्नका लागि २ वटा तला छुट्टाउने ।

८) सफ्टवेयर र एप्स बिकास गरेर निर्यात गर्ने र आन्तरिक बजारमा आपूर्ति गर्ने नेपाली कम्पनीहरु र तिनका केही सय कर्मचारीहरुका लागि २ वटा तला ।

९) अन्य बहुराष्ट्रिय कम्पनीका प्रदर्शनी कक्ष र सेवाहरुका लागि २ वटा तला र दर्जनौ कर्मचारीहरु ।

१०) नेपाली हस्तकलाहरुको प्रदर्शनी कक्षका लागि १ तला र केही दर्जन कर्मचारीहरु ।

११) भाटभटेनी सुपरस्टोरका लागि १ तला चौबीसै घन्टा खुल्ने सेवा सहित र केही सय कर्मचारीहरु ।

१२) नेपाली स्वादका परिकारहरु पाइने रेस्टुरेन्टहरुका लागि १ तला र केही सय कर्मचारीहरु ।

१३) प्रविधिमैत्री बने सँगै सबैलाई साइबर आक्रमणको डर बढेर गएको छ, त्यसकारण एउटा केन्द्रीकृत साइबर सुरक्षा केन्द्रका लागि १ तला र केही दर्जन कर्मचारीहरु ।

१४) बैंक, बीमा र पूँजीबजारका सेवाकेन्द्रहरुका लागि १ तला र केही दर्जन कर्मचारीहरु ।

१५) बाँकी रहेका ३ तलामा बस्नका लागि सुविधाजनक अपार्टमेन्टहरु ।

यो मेरो ब्यक्तिगत धारणा हो । बनिसकेको पूर्वाधारहरुको उचित प्रयोग र उपयोग गर्नुपर्दछ ।”