२७ फागुन २०८१, मङ्गलवार

''मलाई सुखानीको कभरपेजले धेरैबेर तानिरह्यो''

२० फागुन २०८१, मङ्गलवार
Image

आज मिडियाहरु संकटमा परेको अवस्थामा झापाका वरिष्ठ पत्रकार राजु पाठकको सम्पादकत्वमा प्रकाशित सुखानी मेगेजिनको विशेषांक विमोचन कार्यक्रममा सहभागी भइरहेका छौं । यही कार्यक्रममा प्रेस सेन्टर नेपालको झापाको नवनिर्वाचित कार्य समितिको पद हस्तान्तरण भइरहेको छ । अत्यन्त शालिन तथा सिद्धहस्त पत्रकार पुष्प खड्काको नेतृत्वमा रहेको प्रेस सेन्टरको झापा जिल्ला समितिलाई सफल कार्यकालका लागि नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

मिडिया मात्र होइन, आर्थिक मन्दीका कारण निजी क्षेत्रका कतिपय उद्योग धन्धाहरु बन्द भइसकेका छन् भने धेरैजसो संकटग्रस्त छन् । स्थानीय सरकार छ तर स्थानीय मिडियालाई प्रवद्र्धन गर्नुको साटो काठमाडौंमा प्रकाशित पत्रपत्रिकामा विज्ञापन छपाएर स्थानीय मिडियाप्रति सौताको व्यवहार गरिरहेको छ । रेडियो, टेलिभिजन र अनलाइन मिडिया चलाउन अहिले सजिलो छैन । त्यसमा पनि प्रिन्ट मिडिया चलाउनु भनेको फलामको चिउरा चपाउनु जस्तै गाह्रो भएको छ ।

यस्तो अवस्थामा सुखानी सन्देश साप्ताहिकले विशेषांकको रुपमा रंगिन म्याजिन निकालेको छ । यो खुशीको विषय हो । तर, यसरी पत्रिका निकालिरहँदाको भित्री कठिनाई र विज्ञापन माग्दाको पीडा राजुजीलाई मात्रै थाहा होला । सुखानीले नाम अनुसारकै काम गरिरहेको हामी देखिरहेका छौं । गत बर्षको फागुन २१ मा पनि हाम्रो हातमा सुखानीको रंगिन मेगेजिन आएको थियो । अब त सुखानी मेगेजिन आएपछि मात्र फागुन २१ आउँछ जस्तो लाग्न थालिसक्यो । 

सुखानी भन्ने वित्तिकै ती महान पाँच सहिदहरु वीरेन राजबंशी, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठले हाँसी हाँसी २०२९ साल फागुन २१ गते दिनदहाडै यमद्वारको जंगलमा छातीमा गोली थापेर सहादत प्राप्त गरेको घटना स्मरण हुन्छ । म त्यतिखेर जन्मेकै थिइन । जब राजनीतिलाई जान्ने बुझ्ने भइयो, सुखानीको त्यो घटना सुनियो, पढियो र सहादतस्थलमा गएर कयौपटक हेरियो । सहिदहरुप्रति शीर नुहाएर र हृदय ओछ्याएर लाल सलाम अर्पण गरियो । म इलामको तोभाङमा जन्मिएको मान्छे । घरबाट दक्षिण फेवा खोला छ । पूर्वतिर देउमाई खोला छ । दुबै खोला सुसाउँदै मिसिने दोभान नजिकै इभाङको फेदीमा सहिद रत्नकुमार बान्तवाको सहादतस्थल छ । मैले सुखानी भन्दा पहिला इभाङमा रत्नकुमारले बलिदान दिनु भएको घटना सुनेको थिएँ । उहाँप्रति पनि आज सलाम अर्पण गर्दछु ।   

म सुखानीको घटनाभन्दा ज्यादा सुखानी मेगेजिनको चर्चा गर्न उभिएकी छु । सुखानीलाई मेगेजिनको रुपमा वर्षेनी यस्तो राम्रो विशेषांक निकाल्न सफल राजुजी लगायत टिमका सबैलाई हार्दिक बधाई छ । राजु पाठकलाई एउटा कर्मठ पत्रकारको रुपमा चिन्दछु । उहाँ मेरो सहकर्मी पनि हुनुहुन्छ । जनसंसद् दैनिक र लोकतन्त्र पोस्ट दैनिकमा हामीले सँगै पत्रकारिता यात्रा गरेका थियौं । पत्रकार पुजन आचार्य र राजुजी दुवै जना पत्रकारितामा हुनुहुन्छ । मेरो परिवारजस्तै । हामी पनि दुबै जना पत्रकारितामै छौं । यो मेगेजिनमा राजुजी र पुजनजी दुवैको मिहनेत सिञ्चित भएको छ । कसैको धेरै र कसैको अलिकति कम परिश्रम होला, तर पुजनजीको सहयोग नहुने हो भने म ठोकुवा गरेर भन्न सक्छु, राजुजी एक्लैले यो सुखानी आवाज बर्षेनी मेगेजिनको रुपमा निकाल्न सम्भव छैन ।

यो मेगेजिन सरसर्ती पढेको छु । मलाई यो पत्रिकाको कभर चित्रले धेरैबेर तानिरह्यो । कभर स्टोरी ध्यानपूर्वक पढेँ । बगाले घटना जनयुद्धको एउटा अविस्मरणीय परिघटना रहेछ, जहाँ एकै थलोमा राज्य पक्षबाट २० जना योद्धाको नरसंहार भएको रहेछ । कभरपेजले धेरै कुरा बोलेको पाएँ । पत्रकारितामा भनाई नै छ– एउटा तस्वीरले हजार शब्दभन्दा बढी बोल्छ । बगाले घटनाकी ती शेर्पा आमाले आफ्नै छोरो आफ्नै बलेसीमा गुमाएको आफ््नै आँखाले हेर्नुपर्यो । ती आमाको ठाउँमा आफुलाई राखेर सम्झनुहोस् त, कस्तो हुन्छ मुटु । 

सशस्त्र जनयुद्ध हामीले देखेको मात्र होइन, आधुनिक नेपाली राजनीतिक इतिहासको सबैभन्दा ठूलो सशस्त्र जनविद्रोह थियो । जसमा काखमा बच्चा च्यापेका महिलाहरु पनि राज्यसत्ताविरुद्ध बन्दुक बोकेर क्रान्तिमा लामवद्ध भएका थिए । नालापानीको युद्ध महिलाले अंग्रेजविरुद्ध लडेको पढेका थियौं । जनयुद्धमा आमाहरु, महिलाहरु, युवाहरु, वृद्धवृद्धाहरु पनि लडेका थिए । जनयुद्धको एउटा आँखीझ्यालको रुपमा बगाले घटनालाई लिन सकिन्छ । घाइते भएर आराम गरिरहेका लडाकु पनि घटनामा मारिएका थिए । सिंगो बगाले घटनाको पीडाको भारी बोकेको छ जस्तो लाग्छ कभर पेजले । 

विचार, सिद्धान्त र निष्ठाको राजनीति आजको आवश्यकता हो भन्ने सन्देश दिन चाहनुहुन्छ राजुजी यो मेगेजिनमार्फत । धेरैले थाहै नपाएका घटनाहरु उहाँले मेगेजिनमा उजागर गर्नु भएको छ । सिंगो मेगेजिन पढिरहँदा बगाले घटनाकी आमाले भोगिरहेको दर्द हरेक पाठकले महसुस गर्नेछन् । नेपालमा परिवर्तनका लागि ठूला ठूला क्रान्ति भए । नेताहरुले भनेजस्तो व्यवस्था आएको छ । तर, जनताले चाहेजस्तो परिवर्तन चाहिँ अझै पनि आउन सकेको छैन । राजुजीले सम्भवतः यही सन्देश सुखानीमार्फत दिनु भएको छ । मैले यस्तै पाएँ । 

मेगेजिनकी सहसम्पादक पुजन आचार्यले तत्कालीन शासकले झापा विद्रोहका क्रममा जेल परेका र जेल सार्ने बहानामा सुखानीमा कसरी वर्वरतापूर्वक हत्या गरे भन्ने बारेमा लेख्नुभएको छ । उहाँले सरकारले सहिद घोषणा गरेर सुखानी जंगलमा उनीहरुको अर्धकदको शालिक  निर्माण गरे पनि त्यस क्षेत्रको विकासमा ध्यान नदिएको र अर्जुनधाराको सालबारीमा पाँचै जना सहिदको पूर्णकदको शालिक निर्माण गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरेको भन्ने विचार व्यक्त गर्नुभएको छ । 

दुर्गा चापागाई (सचिन)ले गणतन्त्रको जग जनयुद्ध भन्ने शीर्षकमा तत्कालीन निरंकुश राज्यसत्ता ढाल्नका लागि गरिएको आन्दोलनलाई हिंसा भनेर बर्तमानमा गरिएको टिप्पणीप्रति असहमति व्यक्त गर्नु भएको छ । उहाँले महिला, दलित, आदिवासी, जनजाति र उत्पीडितले प्राप्त गरेको अधिकार जनयुद्धकै देन हो भन्नुभएको छ । 

सम्पादक राजुजी बगाले नरसंहार बारे आलेख लेख्न तेह्रथुमको आठराई पुग्नु भएको थियो । फिल्डमै पुगेर, सहिद परिवारलाई भेटेर, घटनाको प्रत्यक्षदर्शीसँग कुराकानी गरेर खोजमूलक ढंगले गरिएको रिर्पोटिङले उक्त घटनाको जानकारीलाई जीवन्त तुल्याएको छ । यो स्टोरी पढिरहँदा आफैं बगाले पुगेको र उनीहरुसँग आफैं कुरा गरिरहेको आभास हुन्छ । 

फुर्वा काण्डु शेर्पा मेगेजिनको शीर्ष पात्र हुनुहुन्छ । उहाँले भोगेको जुन पीडा छ, त्यो आफ्नै पीडा जस्तो लाग्छ जनयुद्धमा सन्तान गुमाएका हरेक आमालाई । 

तत्कालीन समयमा अनाहकमा राज्य पक्ष र विद्रोही पक्षबाट धेरै सर्वसाधारणको हत्या भएको थियो । बगालेमा पनि त्यही देखिन्छ । बगाले घटनामै घाइते भएकी बर्षा (शुशीला कन्दवा ) ओडारमा लुकेर बाँचेको कुरा पत्रकार सन्तोष साहले लेख्नुभएको छ । जनयुद्धमा महिलाको भूमिका सशक्त र उत्साहजनक थियो । सेनाले चलाएको गोली हात गुमाएकी बर्षालाई अलिकति पनि गुनासो छैन । 

पत्रकार झुलन रेग्मीले व्यवस्था परिवर्तनका लागि हिंडेका अमरकुमार चेम्जोंङको ह्वील चियरको यात्राले पाठकको मन तान्छ । मुुलुकमा अवस्था र व्यवस्था परिवर्तनका लागि हिंडेका धेरै अमरकुमारको कथा यसमा भेटिन्छ । घरको नाजुक आर्थिक अवस्था र श्रीमानको हालतले डिप्रेसनमा पुगेकी उहाँकी धर्मपत्नी बुधरानी र औषधि उपचारका लागि मजदूरी गरिरहेका छोराको कथाले नेताहरुलाई गिज्जाइरहेको छ । नेताहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर विगतमा आफैंलाई नेतृत्वमा स्थापित गर्न लागेका र जनताप्रति जवाफदेही बनेको देखिदैन ।

झापा विद्रोहको विषयमा किताब लेख्नु हुने लेखक निरोज कट्टेलले नेपालमा कम्यूनिस्ट पार्टीको स्थापना, झापा आन्दोलनदेखि माओवादी सशस्त्र विद्रोहको उठान गर्नुभएको छ । मेगेजिनमा झापा आन्दोलनका योद्धा नरेश खरेलका बारेमा लेख्नुभएको छ । खरेलको बुझाईमा नेपालको राजनीतिक मूलधारमा रहेका कम्यूनिस्ट पार्टीहरुमा कम्यूनिस्ट चरित्र हराएको छ । 

माओबादी नेता विजय साम्पाङ जनयुद्धको घाइते योद्धा पनि हुनुहन्छ । उहाँले राज्यले नदेखेका घाइते योद्धाहरुको बारेमा विश्लेषण गर्नुभएको छ । उहाँले जनयुद्धमा घाइते भएकाहरुको लागि नेपाली कांग्रेस र एमालेले सम्मान नगरेको र बरु अवमूल्यन गरेको गुनासो गर्नुभएको छ । वास्तवमा सहिद सबैका साझा हुन्छन्, यसमा कसैले राजनीति गर्नुहुँदैन भन्ने मलाई पनि लागेको छ । 

डेंगु लागेको अर्जी मच्छडसँग गरेर हुन्छ शीर्षकमा पत्रकार चुडामिण वशिष्ठले झापा विद्रोह र जनयुद्धलाई लिएर व्यङ्गात्मक टिप्पणी लेख्नुभएको छ । रोमाञ्चक पाराले विश्लेषण गर्नुभएको छ । वरिष्ठ अधिवक्ता एवम् कम्युनिस्ट योद्धा लीला उदासी झापा विद्रोहलाई छामेको एकजना मूर्धन्य व्यक्तित्व हुनुहुन्छ । उहाँले झापा विद्रोहका बारेमा कसले कस्तो कृति प्रकाशन गरेका छन् भनेर मेगेजिनमा लेख लेख्नु भएको छ । 

अहिले सडक र सामाजिक सञ्जालमा गणतन्त्र र लोकतन्त्रविरुद्ध अलिअलि आवाज उठिरहेको सुन्छु । कसैले दान दिएर कृपा गरेर आएको व्यवस्था होइन भन्ने कुरा यो मेगेजिन पढेर पनि थाहा पाउन सकिन्छ । हजारौं सहिदको रगतले सिञ्चिएको र बलिदानको जगमा उभिएको व्यवस्था हो यो । कसैले फ्याक्छु भनेर सजिलै सुन्ठीको टाटी फ्याँके जस्तो फ्याँकिने व्यवस्था होइन यो । यो व्यवस्था ल्याउन जनताको शान्तिपूर्ण आन्दोलनको योगदान छ भने माओवादी जनयुद्ध र मधेश आन्दोलनको योगदान छ । सहिदको योगदान छ । व्यवस्था ल्याउनका लागि योगदान दिनेले केही पाएका छैनन् होला, यो पृथक विषय हो, विडम्बना हो । तर, हामी कोही पनि यो व्यवस्था गुमाउन चाहँदैनौं । आवश्यक परे फेरि एकपल्ट व्यवस्था जोगाउन लड्ने सामर्थ्य जनतासँग छ ।


(प्रेस सेन्टर नेपालको झापा समन्वय समितिद्वारा २०८१ फागुन २० गते विर्तामोडमा आयोजित सुखानी विशेषांक विमोचन र सेन्टरको झापा जिल्ला समितिको पद हस्तान्तरण कार्यक्रममा दिएको मन्तब्यको सम्पादित सार संक्षेप । –सं.)

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।