१९ चैत २०८१, बुधवार

पूर्वी नाकाबाट प्लाइउड निर्यात ठप्प, ३४ वटा ट्रक पानीटंंकीमा रोकिए

११ चैत २०८१, मङ्गलवार
Image

झापा, १२ चैत  भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ । नेपालबाट प्लाइउड बोकेका ३४ वटा ट्रकलाई भारतस्थित पानीटंकी स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईले बताउनुभयो ।

ती ट्रकहरु दुई साता अघि नै काँकडभिट्टा नाकाबाट भारत गएका थिए । भारतीय भन्सार कार्यालयले ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) नभएको निहुँ बनाएर नेपाली सामानलाई रोकेको प्रसाईले जानकारी दिनुभयो ।

बीआइएस भारत सरकारको गुणस्तर प्रमाणपत्र हो । भारतले आयात हुने सामान बीआइएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्ट लगायतका उत्पादनहरुको निर्यात अवरुद्ध भएको छ । काँकडभिट्टा मात्र नभई नेपालका अरु नाकाबाट भारत निर्यात हुने प्लाइउडमा पनि भारतले अवरोध पुर्याइरहेको छ ।

“नेपालबाट प्लाइउड बोकेर भारत गएका ती ट्रकहरु पानीटंकीस्थित भारतीय भन्सारमा रोकिएका छन्,” अध्यक्ष प्रसाइले भन्नुभयो–“न जान दिएको छ, न स्वदेश नै फर्काउन सकिने अवस्था छ ।”

भारतीय भन्सारले तत्काल नेपाल नफर्काए सामान जफत गरिदिने चेतावनी दिइरहेको प्रसाईले बताउनुभयो । नेपाली पक्षले ती सामान निर्यातका लागि भारत सरकारलाई जीएसटी कर समेत तिरिसकेको जनाएका छन् ।

नेपालमा ८० वटा प्लाई उद्योग स्थापना भएका छन् । एउटा उद्योग स्थापनाका लागि न्यूनतम् रु. २५ करोड लगानी हुने उद्योगीहरु बताउँछन् । नाकामा भारतीय पक्षबाट भइरहेको अवरोध नहटे प्लाइउड उद्योगमा भएको अर्बौ लगानी जोखिममा पर्नेछ भने त्यहाँ हजारौंले रोजगारी गुमाउनेछन् ।

आर्थिक वर्ष २०८÷८१ मा नेपालबाट रु. सात अर्ब ४३ करोड मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो । आव २०७९÷८० मा रु. चार अर्ब ७० करोड र आव २०७८÷७९ मा रु. ३५ करोड मूल्य बराबरको प्लाइउड भारतमा निर्यात भएको थियो । 

मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ऋषि तिम्सिनाले भारतले नेपालबाट सबैभन्दा धेरै निर्यात हुने सिमेन्ट र प्लाइउडमा भन्सार अवरोध हुँदा मुलुकलाई ठूलो आर्थिक क्षति पुगिरहेको बताउनुभयो ।

प्लाइउड नेपाली कच्चा पदार्थमा आधारित र व्यापार घाटा न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने निर्यात बस्तु भएकाले यसको निर्वाध निर्यातको वातावरण बनाउन नेपाल सरकारले भारत सरकारसँग उच्चस्तरीय सहमति बनाउनु पर्ने तिम्सिनाको सुझाव छ ।

भारतीय भन्सार अवरोध नहटेपछि प्लाइउड उद्योगहरुले कामदारहरुको काम गर्ने अवधि कटौती गर्न थालेका छन् । तिम्सिनाका अनुसार बिगतमा २४ घण्टा चल्ने प्लाइउड कारखानाहरु हाल मुस्किलले आठ घण्टा सञ्चालन भइरहेका छन् ।

प्लाइउडको निर्यात अवरोध हटाउन माग गर्दै मेची उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघलाई समाधानका लागि पहल गरिदिन पत्राचार गरेको छ । महासंघले नेपाल सरकार, परराष्ट्र मन्त्री र भारतीय राजदूताबाससँग कुराकानी गरिरहेको संघका अध्यक्ष प्रसाइले बताउनुभयो । 

“प्लाइउडको निर्यात कुनै हालतमा रोकिनु हुँदैन भनेका छौं,” प्रसाईले भन्नुभयो– “नेपाली उद्योगहरुले बीआइएसका लागि आवेदन भरेको एक वर्ष भइसक्यो । अहिलेसम्म न प्रमाणपत्र दिएको छ, न भन्सार खुला गरेको छ । यो त हलो अड्काएर गोरु चुटे जस्तै व्यवहार भयो भारत सरकारको ।”