झापा, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भद्रपुरमा अलपत्र गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको निर्माण कार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको नेतृत्वमा प्रधानमन्त्री ओलीलाई मागपत्र बुझाउन आज एक प्रतिनिधिमण्डल गएको थियो ।
पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको उपस्थितिमा नगरप्रमुख पोखरेलले सभागृहको निर्माण अघि बढाउन प्रधानमन्त्री ओलीलाई मागपत्र बुझाउनु भएको थियो ।
वि.सं. २०७२ असार २८ गते प्रधानमन्त्री केपी ओलीसहित तीन दलका तीन जना शीर्ष नेताहरुले उक्त सभागृहको संयुक्त रुपमा शिलान्याश गर्नु भएको थियो ।
जिल्ला विकास समिति अन्तर्गत रहने गरी निर्माण कार्य सुरु भएको सभागृह राज्यको पुनर्संरचनापश्चात जिल्ला समन्वय समिति गठन भएपछि सभागृहको स्वामित्व र ठेक्काको म्याद थप गर्ने आधिकारिक निकाय को हो भन्ने अन्योल उत्पन्न भएको थियो ।
अब सो सभागृहको स्वामित्व भद्रपुर नगरपालिकाले लिन चाहेको छ ।