झापा, १८ चैत । मदन भण्डारी राजमार्गको झापा, इलाम, मोरङ र सुनसरी खण्डमा बन क्षेत्रभित्रका १३ हजार ८३४ वटा रुख कटानको प्रक्रिया अघि बढेको छ ।
मन्त्रीपरिषद्ले झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्मको ७७ किलोमिटर राजमार्गभित्र अवस्थित विभिन्न बन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको हुँदा सम्बन्धित जिल्लाका डिभिजन बन कार्यालयबाट अनुमति लिएर रुख कटान कार्य भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताउनुभयो ।
कार्यालयले राजमार्गको झापाको पश्चिम खण्डमा पर्ने मावा खोलादेखि दमकको बेलडाँगीसम्मको ४७ वटा रुख कटान गरिसकेको र मावा खोलादेखि मोरङको केराबारीसम्मका दुई हजार १६३ वटा रुख कटान कार्य जारी रहेको दत्तले जानकारी दिनुभयो ।
“मन्त्रिपरिषद्को बैठकले राजमार्गको पूर्वी खण्डको बन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको छ,” उहाँले भन्नुभयो–“भोगाधिकार प्राप्त भइसकेपछि बन कार्यालयसँग रुख कटानको स्वीकृति लिएका छौं । अब धमाधम रुख कटान कार्य अघि बढिरहेको छ ।”
झापा र इलामको सीमावर्ती क्षेत्र हुँदै सुखानीदेखि बाहुनडाँगीको पाटापुरसम्मको ३१ किलोमिटर र सुनसरी–मोरङ क्षेत्रको ४६ किलोमिटर राजमार्ग क्षेत्रमा सडक स्तरोन्नतिको कार्यमा बन क्षेत्रका रुखहरु अवरोध बनिरहेका थिए । अब रुख कटान भइसकेपछि राजमार्गको निर्माण तीब्र हुने भएको छ ।
राजमार्गको पूर्वी खण्ड अन्तर्गत झापा र इलाममा छ हजार १७१ वटा, सुनसरीमा पाँच हजार ५०० वटा र मोरङमा दुई हजार १६३ वटा रुख कटान हुने भएको छ ।
मोरङ जिल्लाको बन क्षेत्रभित्रका रुखहरु आगामी वैशाखभित्र कटान गरिसक्ने गरी काम भइरहेको कार्यालयका सूचना अधिकारी दत्तले बताउनुभयो । सडक स्तरोन्नतिका लागि रुख कटान गर्न मन्त्रीपरिषद्को गत मंसिरमा भएको बैठकले नै भोगाधिकार स्वीकृति दिएको थियो ।
धरानदेखि मधुमल्लासम्मको सडक खण्डमा पर्ने वन क्षेत्रका सात हजार ६१० वटा रुख हाल कटान भइरहेको र केराबारीदेखि मावा खोलासम्मको सडकखण्ड अन्तरगतका दुई हजार १६३ वटा रुख कटानको आदेश कार्यान्वयनको प्रक्रियामा रहेको थियो ।
सुनसरी जिल्लामा पाँच हजार ५०० वटा रुखमा छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भइसकेको र कटान आदेश कार्यान्वयनको प्रक्रियामा चलिरहेको जनाइएको छ ।
यसैगरी राजमार्गको गरुवा सुखानी सहादतस्थल–बरफलांगफेदि तीन दशमलव ९२६ अन्तरगत दुई दशमलव २१ हेक्टरमा पर्ने ४८३ वटा, शान्तिनगर–पाटापुर १३ दशमलव ८७४ किलोमिटर अन्तरगतको सात दशमलव ७६ हेक्टरमा पर्ने तीन हजार ५० वटा रुख हटाउनका लागि नेपाल सरकार मन्त्रिपरिषदको चैत ११ गतेको बैठकबाट जग्गा भोगाधिकारको निर्णय भएको छ ।
पूर्वको झापादेखि पश्चिमको डडेल्धुरा जिल्ला जोड्ने यो राजमार्ग चुरे महाभारत क्षेत्रमा निर्माणाधीन छ । यसको कूल लम्बाई एक हजार २०० किलोमिटर रहेको छ । धरानदेखि हेटौडासम्मको ३०० किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने पूर्वी खण्डमा धमाधम कार्य भइरहेको छ ।