४ साउन २०८२, शनिवार

मेची भन्सार : अघिल्लो वर्षभन्दा डेढ अर्ब बढी राजस्व असुली

३ साउन २०८२, शुक्रवार
Image

झापा, २ साउन । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु. १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व असुली गरेको छ ।

यसअघि आव २०८०/८१ मा रु. १४ अर्ब २३ करोड ५२ लाख ६० हजार र आव २०७९/८० मा रु. १४ अर्ब चार करोड पाँच लाख ९२ हजार राजस्व असुली भएको भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिनुभयो ।

आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा कार्यालयले रु. एक अर्ब ६९ करोड ५९ लाख छ हजार बढी राजस्व संकलन गर्न सफल भएको छ । 

कार्यालयले आव २०८१/८२ मा रु. १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व असुलीको लक्ष्य राखेको थियो । भन्सारका सूचना अधिकारी हुमागाईले लक्ष्यको तुलनामा ९१.८६ प्रतिशत प्रगति भएको बताउनुभयो  ।

नेपालको पूर्वी प्रवेशद्वार मानिएको काँकडभिट्टामा रहेको यो भन्सार हुँदै पेट्रोलियम पदार्थ, तरकारी, यातायातका साधन र तिनका पार्टपूर्जा, खनिज उत्पादन, प्लास्टिकका कच्चा पदार्थ, कफी, दलहन, फलफूल, इलेक्ट्रिक मेसिनरी उपकरण, फलाम तथा फलामका सामग्री लगायतका बस्तुहरु आयात हुने गरेको छ ।

त्यसैगरी, यस नाकाबाट निर्यात हुने प्रमुख बस्तुहरुमा अलैची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्लिसो, भेनियर पाता, मोलासिस, सिमेन्ट क्लिंकर, अदुवा लगायत रहेका छन् ।