१७ साउन २०८२, शुक्रवार

विर्तामोडका एउटै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी विक्री

१६ साउन २०८२, बिहिवार
Image

झापा, १४ साउन । विर्तामोड नगरपालिका वडा नं.– ७ का युवा किसान प्रदिप खनाललाई एक साता यता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्याउन भ्याई नभ्याई छ ।

खनालको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० केजी बोडीको तरकारी उत्पादन हुन्छ । उहाँले उत्पादन गरेको सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा विक्री हुने गरेको छ ।

भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कठ्ठामा खनालले बोडी खेती गर्नु भएको हो । “अरु आठ कठ्ठामा फल लाग्न बाँकी नै छ,” उहाँले भन्नुभयो–“बाँकी आठ कठ्ठामा बोडी लहलह फलेको हो ।” 

सात वर्ष अघि ठेक्कापट्टाको काम छाडेर एक कठ्ठामा तरकारी खेती सुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिक खेतीपाती विस्तार गर्नु भएको हो । 

उहाँले बोटबाट आज टिपेको बोडी ताजै बजारमा पुर्याउने गर्नु भएको छ । नगरपालिकाका सात वटा सुपथ मूल्यका पसलमा विक्रीका लागि उहाँकै बोडी लैजाने गरिएको छ । पसलमा नगरपालिकाले तोकेको समर्थन मूल्यमा बोडी विक्री हुने गरेको छ । यदि बजार भाउ खस्किएर कम मूल्यमा विक्री गर्नु पर्ने बाध्यता आयो भने नगरपालिकाले समर्थन मूल्य बराबरको रकम तिरिदिने भएकाले आफुलाई बजारको कुनै चिन्ता नभएको उहाँले बताउनुभयो ।

हाल रु. ३० देखि रु. १०० प्रति केजीसम्ममा बोडी विक्री भएको र कहिलेकाहिँ मूल्यमा उतारचढाव आउने गरेको उहाँले बताउनुभयो । नगरपालिकाले तरकारीमा विषादीको अवशेष जाँच गरेर मात्र पसलमा विक्रीका लागि अनुमति दिने गरेको छ । 

वार्षिक एक करोड मुनाफा

खनालको कृषि फार्ममा २० बिगाहा धान खेती छ भने पाँच विगाहामा विभिन्न प्रकारको तरकारी खेती छ । जसमध्ये बोडी खेती १६ कठ्ठामा लगाइएको हो । उहाँले १५ बिगाहामा अम्बक, बयर लगायतको फलफूल खेती लगाउनु भएको छ । चार बिगाहामा लौका, भिन्डी र खुर्सानी खेती लगाइएको छ ।

धान, तरकारी र फलफूल खेतीबाट वार्षिक रु. एक करोड मुनाफा हुने उहाँले दावी गर्नु भएको छ । “प्रत्येक वर्ष आम्दानी बढ्दै गएको छ,” उहाँले भन्नुभयो–“मैले मात्र आम्दानी गरेको होइन । दर्जनौं व्यक्तिले रोजगारी पनि पाउनु भएको छ । उपभोक्ताहरुले पनि स्वदेशी र ताजा तरकारी खान पाउनु भएको छ ।” यस वर्ष वार्षिक रु. दुई करोडसम्म तरकारी विक्रीबाट आम्दानी हुने अपेक्षा गरेको उहाँले बताउनुभयो ।

“एउटै अम्बक आधा केजीसम्मको फल्छ,” उहाँले भन्नुभयो–“मैले पनि सुरु सुरुमा कृषिबाट यति धेरै आम्दानी हुन्छ होला भनेर पत्याएको थिइन । अहिले आएर आफ्नै देशमा व्यावसायिक कृषि कर्म गरेर ठिकै गरेछु भन्ने लागेको छ ।”

फार्ममा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने दर्जनौंले मौसम अनुसारको खुद्रा काम पाउने गरेका छन् ।

विर्तामोड नगरपालिकाले नगरलाई तरकारी र फलफूलमा आत्मनिर्भर बनाउन ‘पारिको होइन वारिको’ भन्ने अभियान नै सञ्चालन गरिरहेको नगरको कृषि शाखाका प्रमुख राजेन्द्रप्रसाद कडरिया बताउनुहुन्छ । नगरका तरकारी उत्पादक कृषकहरु अभियानमा जोडिनु भएको र भारतबाट तरकारीको आयात प्रतिस्थापन गर्न अभियानले मदत पुर्याइरहेको उहाँले बताउनुभयो ।

नगरपालिकाले बोडीको समर्थन मूल्य प्रति केजी रु. ३० तोकेको छ । कृषि शाखाका प्रमुख कडरियाका अनुसार उक्त मूल्यमा बोडी वजारमा विक्री नभए नगरपालिकाले उत्पादनको तौलको आधारमा घाटापूर्ति रकम उपलब्ध गराउँदै आएको छ ।