१८ साउन २०८२, शनिवार

सामाजिक सञ्जालको टिप्पणीले उपप्रमुख र वडाध्यक्षबीच विवाद

१७ साउन २०८२, शुक्रवार
Image

मेचीनगर, १६ साउन । विर्तामोड नगरपालिकाको कार्यपालिका बैठकले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने र नकारात्मक टिप्पणी गर्ने कार्य नगर्न जनप्रतिनिधिहरुलाई आह्वान गरेको छ ।

नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईको अध्यक्षतामा विहीवार बसेको कार्यपालिका बैठकले उक्त आह्वान गरेको हो । सामाजिक सञ्जालमा गरिएको एउटा टिप्पणीको निहुँमा वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीले २५ देखि ३० जनाको समूह ल्याएर बुधवार दिउँसो नगरका उपप्रमुख नगेन्द्र संग्रौलामाथि हुलहुज्जत र अभद्र व्यवहार गरेपछि कार्यपालिकाले उक्त आग्रह गरेको हो ।

बैठकले उक्त अभद्र व्यवहारको घटनाप्रति खेद समेत व्यक्त गरेको छ । “व्यक्तिगत अफवाह फैलाउने, सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने जस्ता कार्य पूर्णतः बन्द गर्न जनप्रतिनिधि लगायत सबैमा आह्वान गर्दै आफ्नो मर्यादा कायम गर्न र आचारसंहिता पूर्णरुपमा पालना गर्न अनुरोध गर्दछौं”–बैठकपछि नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उपप्रमुख संग्रौलाले फेसबुकमा लेखेको विषयमा आपत्ति जनाउँदै वडा नं. ८ का अध्यक्ष अजय कार्की बुधवार दिउँसो १ बजेतिर २५ जनाभन्दा बढी समर्थक लिएर नगरपालिकाका मेलमिलाप कर्ताहरुको समीक्षा बैठक चलिरहेको बेला उपप्रमुख संग्रौलामाथि गालीगलौज र हुलहुज्जत गर्न जानु भएको थियो ।

उक्त विवादलाई मेलमिलाप गराउन विहीबार कार्यपालिका बैठक डाकिएको भए तापनि बैठकमा वडाध्यक्ष कार्की अनुपस्थित हुनुभएको नगरप्रमुख प्रसाईले बताउनुभयो । बैठकले दुबै पक्षबाट भएका व्यक्तिगत मतभेद र लाञ्छनालाई आपसी मेलमिलापको माध्यमबाटै निवारण गर्न अनुरोध समेत गरेको छ ।

यसैबीच, नेकपा एमाले विर्तामोड नगर कमिटिले आज प्रेस विज्ञप्ति जारी गर्दैै हुलहुज्जतसहित उपप्रमुखको कार्यकक्षमा प्रवेश गरी वडाध्यक्ष कार्कीद्वारा बुधवार भएको अभद्र व्यवहारको भत्र्सना गरेको छ ।

कमिटिका अध्यक्ष सुवास भट्टराईद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा जनप्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिले कार्यालयमा देखाएको हर्कत अशोभनीय रहेको जनाउँदै उपप्रमुख संग्रौलामाथि कुटपिटको प्रयास समेत भएको हुँदा वडाध्यक्ष कार्कीसहित उक्त घटनामा संलग्न सबैलाई कानूनी कार्वाहीको माग गरिएको छ ।

एमाले नगर कमिटिले जनप्रतिनिधिहरुलाई समेत आफ्नो मर्यादाको ख्याल गर्दै सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी नगरी जनताको सेवामा क्रियाशील हुन आग्रह गरेको छ ।