१८ साउन २०८२, शनिवार

प्रेसले ठिक र बेठिक छुट्याउन सक्षम हुनुपर्यो : मुख्यमन्त्री कार्की

१७ साउन २०८२, शुक्रवार
Image

झापा, १६ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेस जगतले ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न सक्ने गरी निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।

प्रेस क्लव भद्रपुरको नवनिर्मित कार्यालयको आज उद्घाटन गर्दै उहाँले पत्रकारिता पेशा नीतिगत रुपमा सरकारका राम्रा कामहरुको प्रचार प्रसार र गलत क्रियाकलापको समालोचना गर्न सक्षम हुनुपर्ने बताउनुभयो ।

उहाँले नकारात्मक शिर्षक दिएर समाचार लेख्यो भने बढी चर्चा र लाइक कमेन्ट पाइन्छ भन्ने लोभमा परेर भ्रामक र गलत समाचार लेख्न नहुने धारणा राख्नु भयो ।

उहाँले क्लवको नवनिर्मित कार्यालयको उद्घाटन शिलालेख अनावरण र ढोकामा रिबन काटेर गर्नु भएको थियो । 

सो अवसरमा भद्रपुरमा रहेर पत्रकारितामा योगदान दिनु भएका अग्रज पत्रकारहरु नकुल काजी र गोविन्दचन्द क्षेत्रीलाई मुख्यमन्त्री कार्कीले क्लवका तर्फबाट नगदसहित दोसल्ला ओढाएर दीर्घ सेवा सम्मान अर्पण गर्नु भएको थियो ।

अग्रज पत्रकार काजी सम्मान ग्रहण गर्न आफै उपस्थित हुनुहुन्थ्यो भने अर्का अग्रज पत्रकार क्षेत्री स्वास्थ्य उपचारको क्रममा भारतको दिल्लीमा हुनु भएकोले उहाँलाई घरमै सम्मान पत्र पुर्याइने क्लवले जनाएको छ ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, दाताका तर्फबाट दुर्गाप्रसाद भट्टराई लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । सोही अवसरमा क्लवलाई आर्थिक सहयोग पुर्याउने दाताहरुलाई सम्मान गरिएको थियो ।

क्लवका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रोहित काफ्लेले स्वागत मन्तब्य राख्नु भएको थियो । उपाध्यक्ष काफ्ले र महासचिव डिल्लीरमण नेपालले कार्यक्रमको आलोपालो उद्घोषण गर्नु भएको थियो ।

सो अवसरमा कोशी प्रदेश सभा सदस्य चुडाल, भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, महासंघका झापा अध्यक्ष एकराज गिरी, महासंघ झापाका सचिव राजु पाठक, प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियार लगायतको उपस्थिति रहेको थियो ।