झापा, १६ साउन । मेचीनगर नगरपालिका–९ स्थित खुट्टिडाँगीमा विद्यार्थी बोकेको स्कुल भ्यान आज सडकबाट अनियन्त्रित भई पल्टिदा चालकसहित १७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मे१ज ३१०७ नम्बरको पारिजात पब्लिक स्कुलको विद्यार्थी वाहक भ्यान आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटना भएको भ्यान सानो भए तापनि त्यसमा भरिभराउ विद्यार्थीले यात्रा गरिरहेका थिए । भ्यानले विद्यार्थी बोकेर स्कुलतर्फ लगिरहेको बेला दुर्घटना भएको थियो । दुर्घटनापछि भ्यान सडकबाट पल्टिएर खोल्सामा पुगेको थियो ।
घाइतेहरुमा ६ वर्षीया सबिस्का राई, ४ वर्षीया समिरा विशुंखे, १० वर्षीय आदित्य राई, ११ वर्षीया सदीक्षा काफ्ले, ११ वर्षीय सोहित राजबंशी, ११ वर्षीय आयान सुब्बा, ११ वर्षीय अनुराग तामाङ, १२ वर्षीया कृष्पा राई, १२ वर्षीय संयोग विशुंखे, १२ वर्षीया आयानी बिक, ११ वर्षीय प्रनिस राई, ९ वर्षीय समर्पण राई, ६ वर्षीया सुसिता किसान, ६ वर्षीय तानसोना लिम्बु र ९ वर्षीय अंगु मगर रहेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा शिक्षक २४ वर्षीया प्रिती शिवा र चालक ४५ वर्षीय गणेश श्रेष्ठ समेत घाइते हुनु भएको छ । सबै घाइतेहरुलाई उपचारका लागि चार किलोमिटर टाढा पर्ने मेची आम्दा हस्पिटल पुर्याएको थियो । चिकित्सकको सुझाव अनुसार अधिकांश घाइतेलाई थप उपचारका लागि विर्तामोडको बीएन्डसी टिचिङ हस्पिटलमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै धुलाबारी इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डव राजबंशीको नेतृत्वमा प्रहरी टोली दुर्घटनास्थलमा पुगेको थियो । दुर्घटना भएको भ्यान प्रहरीले नियन्त्रणमा राखेको छ । भ्यानको अग्रभाग कुच्चिएको छ । घाइते सबै खतरामुक्त अवस्थामा रहेको प्रहरीको भनाई छ ।