झापा, १८ साउन । विर्तामोड नगरपालिकाले किसानहरुले उत्पादन गरेको तरकारी बजारिकरणका लागि सञ्चालनमा ल्याएको सुपथ मूल्यका सामुदायिक विक्री केन्द्रहरु प्रभावकारी बनेका छन् ।
नगरपालिकाले नगरका विभिन्न वडामा सात वटा सुपथ मूल्यका सामुदायिक विक्री केन्द्र र विर्तामोडमा मुख्य संकलन केन्द्र सञ्चालन गर्दै आएको छ । किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी संकलन केन्द्रमा जम्मा भएर पसलमार्फत विक्री हुने गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा रु. ७३ लाख २३ हजार ५४० मूल्य बराबरको २७६ मेट्रिक टन तरकारी संकलन भएको विर्तामोड नगरपालिकाको कृषि शाखाका प्रमुख राजेन्द्र प्रसाद कडरियाले बताउनुभयो ।
नगरपालिकाले तरकारीको न्यूनतम् समर्थन मूल्य तोकेर उक्त मूल्य नपाएमा क्षतिपूर्ति वापत रकम भुक्तानी दिने गरेको छ । समर्थन मूल्यभन्दा कम मूल्यमा तरकारी बेचेका २४ जना किसानलाई पालिकाले क्षतिपूर्ति स्वरुप भुक्तानी गरेको उहाँले बताउनुभयो ।
आव २०८१/८२ मा नगर क्षेत्रका तरकारी किसानलाई नगरपालिकाबाट समर्थन मूल्य वापत रु. १२ लाख ८१ हजार ८८७ भुक्तानी प्रदान गरिएको नगरका उपप्रमुख नगेन्द्र संग्रौलाले बताउनुभयो ।
नगरलाई अग्र्यानिक तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले विगत एक बर्ष अघि पालिकाले तरकारीको समर्थन मूल्य तोकेको छ । पालिकामा सूचिकृत भएर व्यावसायिक तरकारी खेती गर्ने किसानको संख्या ११७ जना रहेको र संकलन केन्द्रबाट ६७ जना किसानले तरकारी विक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
कृषि शाखाले जनाए अनुसार विर्तामोड नगरपालिकाले तरकारीको न्यूनतम समर्थन मूल्य वापत प्रतिकिलो काउली रु.२६, बन्दा रु.२४, ब्रोकाउली रु.३५, खुर्सानी रु.५४, घिरौला रु.२६, करेला रु.३२, बैगुन रु.२६, सिमी रु.४६, काँक्रा रु.२५, भिण्डी रु.३६, फर्सी रु.३१, स्क्वास फर्सी रु.२५, भेडे खुर्सानी रु.५१, बोडी रु.३०, लौका रु.२७ र टमाटर रु.३० रहेको छ ।
नगरपालिकाले गत वर्षदेखि ‘पारिको होइन बारीको खाउँ’ भन्ने नारासहित अग्र्यानिक कृषि प्रवर्धनमा लगानी गर्दै आएको छ । किसानले उत्पादन गरेको बस्तुको उचित मूल्य प्राप्त होस् भनेर पालिकाले समर्थन मूल्य तोकेर रकम भुक्तानी दिने गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईले बताउनुभयो ।
किसानले उत्पादन गरेको तरकारी बजारिकरणमा समस्या नहोस् भनेर पालिकाले संघीय सरकारको सहयोगमा रु. २६ लाखमा कृषि एम्बुलेन्स समेत खरिद गरेको उहाँले जानकारी दिनुभयो ।
“व्यावसायिक तरकारी उत्पादनमा किसानलाई प्रेरित गर्न हामीले समर्थन मूल्य तोकेका हौ,” नगरप्रमुख प्रसाईले भन्नुभयो– “भारत र पहाडी जिल्लाहरुबाट आएको तरकारीमा अत्याधिक विषादिको मात्र भेटिएपछि अग्र्यानिक तरकारी उत्पादनमा जोड दिने हामीले यो अवधारणा ल्याएका हौ ।”
नगरमा सबैभन्दा बढी समर्थन मूल्य वापतको भुक्तानी रकम प्राप्त गर्नुभएका तरकारी उद्यमी प्रदीप खनालले यसले तरकारी किसानलाई उत्साह र प्रेरणा थपेको बताउनुभयो । उहाँले समर्थन मूल्य वापतको एक बर्षमा रु. पाँच लाख ३४ हजार ५११ प्राप्त गर्नुभएको छ ।