२२ साउन २०८२, बुधवार

विवाद मिलाउन एमाले र राप्रपा सहमत

२१ साउन २०८२, मङ्गलवार
Image

झापा, २० साउन । विर्तामोड नगरपालिकामा उपप्रमुख नगेन्द्र संग्रौला र वडा नं. ८ का अध्यक्ष अजय कार्कीबीचको विवाद मिलाउने सहमति भएको छ ।

फेसबुकमा लेखेको टिप्पणीको विषयमा विवाद बढेर राजनीतिक तनाव र नाराजुलुसको अवस्था सिर्जना भएको थियो । तर, अब दुबै पक्ष मेलमिलापमा जान तयार भएका छन् ।

सम्बद्ध राजनीतिक दल नेकपा एमाले र राप्रपाका जिल्ला नेताहरुको पहलमा विवाद मिलाउने सोमवार सहमति भएको हो ।

लिखित सहमति सार्वजनिक गरिएको छैन । तथापि उपप्रमुख र वडाध्यक्षलाई गल्ती नदोहोर्याउने गरी समझदारी गराउन दुबै दल सहमत भएका हुन् ।

हाल उपमेयर संग्रौला काठमाडौंमा हुनुहुन्छ । उहाँ झापा आइसकेपछि दुबैलाई राखेर समझदारी गराइने भएको छ ।

एमालेका जिल्ला अध्यक्ष प्रेम गिरी र राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाको पहलमा दलीय मेलमिलापको सहमति भएको हो ।

सो अवसरमा विर्तामोडको नगरप्रमुख पवित्रा महतरा प्रसाई, नेकपा एमालेका नगर अध्यक्ष सुभाष भट्टराई र राप्रपाका नगर अध्यष लक्ष्मी गौतम उपस्थित हुनुहुन्थ्यो ।