झापा, २३ साउन । विहीवार अर्जुनधारा नगरपालिकाको एउटा विद्यालयमा विद्यार्थीहरु बस्ने बेञ्चमा एक जना विशिष्ट अभिभावक भेटिनु भयो ।
उहाँले विद्यार्थीहरुको मनका कुरा सुन्नु भयो । शिक्षक र शैक्षिक अभियन्ताहरुको सुझाव सुन्नुभयो । अनि आफ्ना केही कुरा सुनाउनुभयो ।
राष्ट्रपति पुरस्कार प्राप्त गरिसक्नु भएकी प्रख्यात शैक्षिक अभियन्ता याङजोन शेर्पा पनि उक्त अवसरमा उपस्थित हुनुहुन्थ्यो । शेर्पाले विशिष्ट अभिभावकको उपस्थिति अर्जुनधाराका विद्यार्थीहरुका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो ।
सबैका कुरा सुनिसकेपछि ती विशिष्ट अभिभावकले भन्नुभयो–‘प्यारा विद्यार्थीहरु, आफ्नै छोराछोरी सम्झेर सोध्दैछु– तपाईहरु नमस्ते खाने हुने कि नमस्ते गर्ने हुने ?’
उज्ज्वल भविष्यको सपना सजाइरहेका विद्यार्थीहरुले ती विशिष्ट अभिभावकले बोलेको कुरा ध्यानपूर्वक सुनिरहेका थिए ।
उहाँ विद्यार्थीतिर फर्केर बोल्दै अगाडि बढ्नुभयो–‘यदि तपाईहरु नमस्ते खाने बन्न चाहनु हुन्छ भने अबको पाँच वर्ष पढाइमा खुब मिहेनत गर्नुहोस् । आजीवन नमस्ते खाने बन्नुहुनेछ । होइन, सामाजिक सञ्जालमा बरालिने र पढाइमा ध्यान नदिने हो भने पाँच वर्षपछि तपाईहरु अरुलाई जिन्दगीभरि नमस्ते गर्ने बन्नुहुनेछ ।’
चिन्नुभयो ? उहाँ अरु कोही नभएर अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देन तामाङ हुनुहुन्थ्यो । अर्जुनधारालाई शिक्षामा देशकै नमुना बनाउने संकल्प गर्दै उहाँ शैक्षिक अभियन्ता, जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी लगायतलाई साथमै लिएर विद्यालयहरुको अनुगमनमा हिँड्ने गर्नु भएको छ ।
‘मेयरसँग विद्यार्थी’ कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई पढाईमा उत्प्रेरित गर्ने अभियान अहिले अर्जुनधारामा सञ्चालन भइरहेको छ । झट्ट अनुहार हेर्दा कोरियाको राष्ट्रपति जस्तो देखिनुहुने हँसिलो र जनप्रिय नगरप्रमुख गोम्देनले गुणस्तरीय शिक्षाका लागि गरिरहनु भएको प्रयास अनुकरणीय छ ।