२५ साउन २०८२, शनिवार

झापा विद्रोहका अगुवाको पैतृक थलोमा बन्यो ‘मैनालीबाडी चौतारो’

२५ साउन २०८२, शनिवार
Image

झापा, २४ साउन । सार्वजनिक स्थलमा पाटी, पौवा र चौतारो बनाउने धेरै पुरानो परम्परा छ । गाउँका मानिसहरु एकैथलोमा बसेर सामाजिक हितका छलफल गर्न र ज्येष्ठ नागरिकहरुलाई दुःख सुखका गफ गर्न यस्ता चौतारोहरु लाभदायक हुने गरेका छन् ।

मेचीनगर—१४ मैनालीवाडीमा स्थानीय सामाजिक अभियन्ता दिपक ढकालको पहलमा यस्तै एउटा भब्य चौतारोको निर्माण भएको छ । मेचीनगरकी कार्यवाहक नगरप्रमुख मीना उप्रेतीले शुक्रबार एक कार्यक्रमबीच चौतारोको उद्घाटन गर्नुभयो ।

चौतारोको निर्माणमा रु. सात लाख २७ हजार ८९० खर्च भएको मैनालीबाडी टोल विकास संस्थाका अध्यक्ष खेमराज ढकालले बताउनुभयो ।

झापाली बाम आन्दोलनका अग्रज नेताहरु राधाकृष्ण मैनाली र सीपी मैनालीको पैतृक बसोबासस्थल भएकाले यस गाउँलाई अहिले पनि मैनालीबाडी भनिन्छ । हाल मैनाली परिवार भने यहाँबाट अन्यत्र बसाई सरेर गइसक्नु भएको छ ।

मैनाली परिवारको पहिचान समेत जोडिएको हुँदा चौतारोको नाम 'मैनालीबाडी चौतारो' राखिएको छ । यस गाउँमा हाल दुई दर्जनभन्दा बढी परिवारको बसोबास छ ।

चौबाटोमा नवनिर्मित चौतारोको सम्पूर्ण संरचना पक्की छ । बलियो जग हालेर बनाइएको फराकिलो चौतारोको छत पनि पक्की नै छ । मौनालीबाडी टोल विकास संस्थाले चौतारोको निर्माण गरेको हो । चौतारोमा टोलको बैठक, छलफल र भेटघाट कार्यक्रम गर्न सकिने भएको छ ।

यसका लागि मेचीनगर नगरपालिका, वडा कार्यालय, मैनाली परिवार र स्थानीयको सहयोग रहेको टोल विकास संस्थाका अध्यक्ष ढकालले बताउनुभयो ।

उहाँकै अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक नगरप्रमुख उप्रेती र विशेष अतिथि वडाध्यक्ष बाबुलाल सुब्बा हुनुहुन्थ्यो । सो अवसरमा लोकतन्त्र पोस्टका सम्पादक मोहन काजी, शिक्षक देवेन्द्र थापा, ज्येष्ठ नागरिक विष्णुभक्त कटुवाल, गंगादेवी खड्का लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा सदस्यहरु लाल मोहम्मद, दिपक सुबेदी र फुलकुमारी राजबंशीको समेत उपस्थिति रहेको थियो ।

चौतारो निर्माणका लागि मेचीनगर नगरपालिकाले रु. चार लाख आर्थिक सहयोग गरेको थियो । पूर्व मन्त्री राधाकृष्ण मैनाली र राधिका मैनालीले रु. ५० हजार सहयोग गर्नु भएको थियो । डिल्लीराम मैनाली र शोभा मैनालीले रु. ५० हजार सहयोग गर्नु भएको थियो । मिनप्रकाश मैनाली र अम्बिका देवी पकुवाल मैनालीले रु. एक लाख सहयोग दिनु भएको थियो ।

चौतारो निर्माणमा ३५ जनाभन्दा बढी दाताले आर्थिक तथा जिन्सी सहयोग गरेको टोल विकास संस्थाका सचिव दिपक ढकालले बताउनुभयो । सरिन थापाले रु. २० हजार  र गंगादेवी खड्काले रु. २५ हजार सहयोग गर्नु भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा रु. पाँच हजार भन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरुलाई खादा ओढाएर सम्मान समेत गरिएको थियो । संस्थाका सचिव ढकालले सञ्चालन गरेको कार्यक्रममा पूर्व सचिव सन्तोष न्यौपानेले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।