झापा, २५ साउन । भद्रपुरमा हर्क साम्पाङ समर्थकहरुले संगठन निर्माण गरेका छन् ।
उनीहरुले गठन गरेको संगठनको नाम ‘स्वतन्त्र नागरिक समाज’ रहेको छ । साप्ताहिक श्रमदान शिविर सञ्चालनको अगुवाई गर्दै आउनु भएका सामाजिक अगुवा दिपक तिम्सिनाको नेतृत्वमा समाजको १५ सदस्यीय नगर कमिटी गठन भएको छ ।
‘अब वडा नं. २ बाट स्वतन्त्र नागरिक समाजको वडास्तरीय संगठन विस्तार सुरु गरेका हौं,’ लोकतन्त्र पोस्टसँगको कुराकानीमा तिम्सिनाले भन्नुभयो–‘हाम्रो संगठनको केन्द्र, प्रदेश र जिल्ला भन्ने कमिटी छैन । जे छ भद्रपुर नगरपालिकाभित्रै छ । नगरको १० वटै वडामा कमिटी गठन गर्दै अघि बढ्नेछौं ।’
धरानका नगरप्रमुख हर्कराज राईको जस्तो पहिरन लगाएर स्वतन्त्र नागरिक समाजका सदस्यहरुले श्रम शिविर सञ्चालन गरेको ५२ हप्ता बितिसकेको छ । सडक, विद्यालय, संघ संस्था, अस्पताल लगायतका सार्वजनिक स्थलमा समाजका सदस्यहरुले सरसफाई अभियान चलाउँदै आएका छन् ।
समाजका भद्रपुर नगर कमिटीका अध्यक्ष तिम्सिनाले आफ्नो नेतृत्वमा क्रियाशील स्वतन्त्र नागरिक समाज धरानका मेयर हर्क साम्पाङको समर्थक भएको स्वीकार गर्नुभयो ।
‘हामी समाजमा श्रम गर्नुपर्छ भन्ने धरानका मेयर हर्क साम्पाङको आदर्श विचारबाट उत्प्रेरित छौं,’ उहाँले भन्नुभयो–‘हामी स्वतन्त्र मानिसहरु हौं । उहाँ (हर्क)को अभियानलाई विश्वास गर्नेहरु हौं ।’
आगामी २०८४ को चुनावमा साम्पाङले राजनीतिक दल खोलिसक्ने बताउँदै आउनु भएको छ । यदि उहाँले पार्टी खोल्नु भयो भने भद्रपुरको स्वतन्त्र नागरिक समाज त्यही पार्टीमा समाहित हुने तिम्सिनाले बताउनुभयो ।
झापामा हर्क साम्पाङको समर्थनमा खुलेको यो पहिलो संगठन हो । तिम्सिनाले संगठनको नगर कमिटी १५ सदस्यीय र वडा नं. २ को कमिटी २५ सदस्यीय छ । वडा नं. २ मा रामकुमार वान्तवाले समाजको नेतृत्व गर्नु भएको छ ।
श्रमदानमा निरन्तर सहयोग पुर्याइरहेका समर्थकहरुको आँकडालाई आधार मानेर तिम्सिनाले भद्रपुरमा आफ्नो संगठनमा ३०० भन्दा बढी सदस्य रहेको दावी गर्नुभयो ।
समाजले हालसम्म कुनै कार्यालय खोलेको छैन । साप्ताहिक श्रम शिविरमा प्रयोग हुने २५ वटा सिकल, सात वठा बेल्चा, सात वटा कोदाली, हाते माइक र एउटा झार काट्ने मेसिन दाताहरुले सहयोग दिएको उहाँले जानकारी दिनुभयो ।
शिविरमा सहभागीहरुले खाने चिथा तथा खाजा आफैबाट स्वस्फूर्त तिर्ने गरिएको उहाँले बताउनुभयो । सदस्यहरुले लगाउने हर्क साम्पाङ शैलीको सेतो भेस्ट समेत दाताहरुले नै उपलब्ध गराएको बताइएको छ ।