मेचीनगर, २८ साउन । प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति कान्तिपुर टिभीमा झापाबाट कार्यरत पत्रकार रमा दाहाललाई प्रदान गरिने भएको छ ।
प्रेस चौतारी नेपाल झापाको मंगलबार बसेको बैठकले दाहाललाई लेखनवृत्ति प्रदान गर्ने निर्णय स्वीकृत गरेको हो । गत साउन ११ गते सम्पन्न जिल्लाको बैठकले प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति बनाएको थियो । समितिको सदस्यमा फाँट इञ्चार्ज मनकुमार गदाल र सचिव युवराज आचार्य रहेका थिए । सो छनौट समितिले गरेको सिफारिसलाई जिल्ला कमिटीको बैठकले स्वीकृत गरेको हो ।
जिल्लामा पछिल्लो छ महिनामा प्रकाशित तथा प्रशारित समाचारहरु संकलन गरेर लेखनवृत्तिका लागि छनौट समितिले उत्कृष्ट समाचार लेख्ने पत्रकारको नाम जिल्लालाई सिफारिस गरेको थियो । दर्जनौं उत्कृष्ट समाचारहरुमध्येबाट पत्रकार दाहाललाई छनौट गरिएको छ, अध्यक्ष परियारले भन्नुभयो – “पत्रकार दाहालले बाह्रदशी गाउँपालिकामा मुस्लिम, मधेशी समुदायका महिलाहरुको न्यायमा पहुँच नपुगेको विषयलाई प्राथमिकता दिएर उठान गर्नुभएको समाचारलाई छनौट गरेका छौं ।”
प्रेस चौतारी झापाले हरेक छ÷छ महिनामा उत्कृष्ट समाचारका आधारमा संस्थापक अध्यक्षको नाममा स्थापित लेखनवृत्ति दिने निर्णय थियो । लेखनवृत्ति साउन ३० गते आयोजना गरिने कार्यक्रममा प्रदान गरिने बताइएको छ । सो अवसरमा नारी सञ्चार गृह झापामा निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन र तीज मिलन कार्यक्रम सम्पन्न गरिने प्रेस चौतारी झापाले जनाएको छ । यसअघिकै बैठकले लेखनवृत्तिलाई व्यवस्थित गर्न केन्द्रीय सदस्य सावित्रा दाहाल, फाँट इञ्चार्ज मनकुमार गदाल र पत्रकार महासंघ कोशी उपाध्यक्ष अम्बिका भण्डारीलाई कार्यविधि बनाउन जिम्मेवारी दिएको थियो ।
बैठकले बुधबार दमकस्थित सर्वोदय माविमा सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय समेत गरेको उपाध्यक्ष राजु पोखरेलले जानकारी दिनुभयो ।