९ भदौ २०८२, सोमवार

झापामा करेन्ट लागेको घटना बढ्यो, एक वर्षमा १५ जनाको गुम्यो ज्यान

३ भदौ २०८२, मङ्गलवार
Image

झापा, ३ भदौ । ग्रामीण क्षेत्रमा विद्युतको असुरक्षित प्रयोगका कारण करेन्ट लागेर हुने मृत्युको घटना बढेको छ । जिल्लामा साउन महिनामा करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार गत चार महिनामा झापामा करेन्ट लागेर ११ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेहरु अधिकांश विद्युत सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएका ग्रामीण क्षेत्रका बासिन्दाहरु छन् ।

संखुवासभाको चैनपुर वडा नं. २ घर भएका ३१ वर्षीय रामकुमार अधिकारी हल्दिबारी–२ स्थित मैनाली हाते कागज उद्योगमा काम गर्दै आउनु भएको थियो । साउन २५ गते नजिकैको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर उहाँको घटनास्थलमै मृत्यु भयो ।

करेन्ट लागेर वृद्धाले पनि ज्यान गुमाएका छन् । साउनको पहिलो साता गौरादह नगरपालिका–६ की ७७ बर्षीया तेजकुमार उप्रेती गाईको गोठभित्र कुटी काट्न जानु भएको थियो । कुटी काट्ने मेसिनको मोटरमा विद्युत सर्ट भई करेन्ट लागेर उहाँको पनि घटनास्थलमै मृत्यु भयो । 

मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाले ज्यान गुमाएका छन् । गौरादह नगरपालिका–४ जोरघरेकी ५४ बर्षीया चन्द्रमाया नेम्वाङको साउनको तेस्रो साता एकाविहानै मोटरबाट पानी तानेर खेतमा सिञ्चाई गर्ने क्रममा करेन्ट लागेर मृत्यु भयो । उहाँलाई छोराले खेतमा लडिरहेको अवस्थामा मृत फेला पार्नु भएको थियो ।

कचनकवल गाउँपालिका–७ का ५० बर्षीया अरुण राजवंशीको साउनको दोस्रो साता घर नजिकै रहेको सिञ्चाईको मोटरमा तार जोड्दा जोड्दै करेन्ट लागेर घटनास्थलमै मृत्यु भयो । करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने क्रममा भएको पाइएको खड्काले बताउनुभयो । 

लामो समय पर्याप्त वर्षा नभएपछि जिल्लामा धान रोप्न र रोपेको खेतमा पानी लगाउन मोटर चलाउने क्रम बढेको छ । जसमा पर्याप्त प्राविधिक ज्ञान नभएका सर्वसाधारण व्यक्तिहरु दुर्घटनाको शिकार भएका छन् । 

अधिकांश मानिसमा विद्युतीय मोटर कसरी चलाउने भन्ने राम्रो ज्ञान छैन । अपूर्ण ज्ञान र सतर्कताको कमीका कारण करेन्ट लागेर मानिसहरुले अकालमै मृत्युवरण गरिरहेका छन् ।

साउनको पहिलो साता अर्जुनधारा नगरपालिका–४ भाङबारीका ३५ बर्षीय दीपक पाण्डे विर्तामोड–२ पश्चिम स्टेन्डमा बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा करेन्ट लागेर घाइते हुनुभयो । सोही दिन उपचारको क्रममा वीएन्डसी अस्पताल विर्तामोडमा उहाँको मृत्यु भयो ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा झापामा करेन्ट लागेर १५ जनाको ज्यान गएको छ । करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दै गएकाले पानी तान्ने मोटर लगायतका विद्युतीय उपकरण चलाउने सर्वसाधारणलाई सचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको छ ।