९ भदौ २०८२, सोमवार

चीनको शैक्षिक संस्थासँग सम्बन्ध जोड्दै इष्ट होराइजन

४ भदौ २०८२, बुधवार
Image

मेचीनगर, ४ भदौ । इस्ट होराइजन अंग्रेजी माविले चीनको फुजियान राज्यस्थित झाङझाउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीसँग भगिनी सम्बन्धको रुपमा शैक्षिक सहकार्य गर्ने भएको छ ।

विश्वस्तरीय शिक्षा र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने भएको बुधबार विद्यालयमा पत्रकार सम्मेलन गरी विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले जानकारी दिनुभयो । 

उहाँका अनुसार चीनको विद्यालयसँग जोडिएर संयुक्त रूपमा पाठ्यक्रम निर्माण गर्ने विद्यालयको प्रमुख लक्ष्य रहेको छ । उहाँले शिक्षक तथा प्राध्यापक क्षमता विकास, विद्यार्थी आदानप्रदान कार्यक्रम, उद्योग–अनुरूप व्यावसायिक तालिम लगायतका विषयमा दुई शैक्षिक प्रतिष्ठानबीच सहकार्य गरिने बताउनुभयो । 

पत्रकार सम्मेलनमा सोही कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले चियासम्बन्धी ज्ञानलाई स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म व्यवस्थित रूपमा अध्ययन र अभ्यास गर्ने अवसर पाउने जानकारी दिइएको थियो । 

विद्यार्थीहरूले विभिन्न देशका परम्परा, संस्कार र चिया पिउने सांस्कृतिक दृष्टिकोणबारे अध्ययन गर्ने, चियालाई सांस्कृतिक र सामाजिक सम्पर्कको माध्यमको रुपमा बुझाउने, चिया उत्पादनपछि हुने प्रोसेस सम्बन्धी अध्ययन, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन ब्रान्डिङ रणनीति, प्याकेजिङ डिजाइन र प्रचार–प्रसारको सीप सिकाइने उहाँले पत्रकारहरुलाई बताउनुभएको थियो । 

स्थानीय चियाको बजार प्रवद्र्धन तथा प्रोत्साहन, विद्यार्थीहरूले आफ्नै देश वा क्षेत्रको चियालाई आकर्षक बनाउने र बजार विस्तार गर्ने विषयमा अभ्यास गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

त्यस्तै, अन्तर्राष्ट्रियस्तरको ल्याब अध्ययन गरेर गुणस्तर परीक्षण, स्वाद पहिचान, सुगन्धको वैज्ञानिक विश्लेषण, नयाँ प्रजाति विकास र आधुनिक परीक्षण उपकरणहरूको अनुभव लिने जनाइएको छ ।

यसैगरी, दुई देशको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने, विद्यार्थीहरुले चिनको चिया संस्कृति सिक्ने र आफ्‌नै संस्कृति पनि चिनियाँ साथीहरुसँग साझेदारी गर्ने अवसर प्राप्त हुने प्रिन्सिपल राईको भनाई छ । 

यसैबीच, विद्यालय आफैँले निर्माण गरेको तीज विशेष भिडियो पनि सार्वजनिक गरिने पत्रकार सम्मेलनमा नृत्य निर्देशक दिवस गिरीले जानकारी दिनुभयो ।

त्यस्तै, आपसी सद्भाव बढाउने उद्देश्यसाथ यही शुक्रबार तीजको अवसरमा विद्यालयका शिक्षिकाहरुबीच मैत्रीपूर्ण फुटबल हुने प्रिन्सिपल सावित्रा सापकोटाले बताउनुभयो । कार्यक्रममा पत्रकारले राखेको जिज्ञासाको उत्तर शिक्षक महेश खड्का, विकास ग्वाललगायतले दिनुभएको थियो ।