९ भदौ २०८२, सोमवार

अनेमसंघ मेचीनगरद्वारा एसइई उत्तीर्णका आमाहरु सम्मानित

४ भदौ २०८२, बुधवार
Image

मेचीनगर, ४ भदौ । रातो सारीमा सजिएका पाँच सय बढी महिलाहरु र उनीहरुलाई दर खुवाउन उपस्थिति दाजुभाईहरुले बुधबार धुलाबारीस्थित राधास्वामीको हल खचाखच थियो । 


अखिल नेपाल महिला संघ मेचीनगर कमिटीले आयोजना गरेको तीज विशेष कार्यक्रममा तडकभडकरहित महिलाहरुको उपस्थितिले हुँदा खाने र हुने खानेबीचको तालमेललाई मिलाएको देखिन्थ्यो ।


सामान्य खालका राता सारी, चुरा र पोतेमा सिंगारिएका महिलाहरुले तीजको लहर आयो बरि लै… गीतमा छमछमी नाच्दा दाजु भाईहरुले ताली पड्काएर प्रोत्साहन गरिरहेको दृश्य हेर्न लायक थियो । 

दिदी बहिनीहरुलाई पानी खुवाउने, खानेकुराको जोहो गर्ने र ताली बजाएर नाच्न हौस्याउने, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य विष्णु प्रसाई, हरिचरण बानियाँ, भीम खवास, प्रदेश, जिल्ला कमिटीदेखि नगरकमिटी समेतका पार्टीका सदस्यहरु खटिनुभएको थियो । 

कार्यक्रमकी प्रमुख अतिथि अनेम संघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्‌ले, मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेती र संघकी नगरकमिटी अध्यक्ष हेमा सिटौलालाई सल्लाहकार परिषद सदस्यद्य विष्णु प्रसाई र भीम खवासले रसबरि खुवाएर दर खुवाउन सुरुवात गरेको दृश्यले दाजुभाई तथा दिदी बहिनीको आत्मीयपनको गहिरो अनुभव गर्न सकिन्थ्यो । 

कार्यक्रममा प्रमुख अतिथि काफ्‌लले  विगत ४० बर्षदेखि संघले हाम्रो संस्कार र संस्कृतिको जर्गेना गर्ने उद्देश्यले तीज कार्यक्रम मनाउँदै आएको बताउनुभयो । 

उहाँले कार्यक्रममा सबै महिलाहरुले राजनीति बुझ्‌न अनिवार्य रहेको बताउँदै संविधानमा लेखिएको महिला अधिकारका कुरालाई अक्षरस कार्यान्वयन गराउन अनेम संघ सक्रिय भएर लागेको बताउनुभयो । “अब राजनीति जानेन भने केही गर्न सकिदैन”, उहाँले भन्नुभयो, “टोल विकासदेखि राज्य चलाउन पनि राजनीति नै बुझेको चाहिन्छ ।”

संस्थाकी अध्यक्ष हेमा सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा ३० जना एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीका आमाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सल्लाहकार प्रसाई र नगर उपप्रमुख उप्रेतीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सल्लाहकार प्रसाई र नगर उपप्रमुख उप्रेतीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाकी उपाध्यक्ष अनिता गुरागाईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा अगुवा महिला नेतृ सरस्वती सिटौला, रमा भण्डारीलगायतले तीजको गीत गाउनुभएको थियो ।