झापा, ५ भदौ : हातमा क्यामेरा, डायरी, कलम बोकेर शहरदेखि गाउँका कुना कन्दरासम्म पुगेर भ्रष्टाचार र वेथितिको भण्डाफोर मात्र होइन सुशासनका लागि गरिएका पहलहरुको समेत खोजी गर्दै जनमानसमा सही सूचना पुर्याउँदै आएका झापाली पत्रकार महिलाहरु विहीबार विर्तामोडमा तीजको रौनकसँगै फरक शैलीमा देखिए ।
नारी सञ्चार गृह झापाले आयोजना गरेको लेखनवृत्ति तथा तीज विशेष कार्यक्रममा पत्रकार महिलाहरुले जागरणका गीत, कविता र मुक्तक प्रस्तुत गरेर आपसमा तीजको शुभकामना साटे ।
पम्परागत र आधुनिक तीज बीचको फरकलाई विश्लेषण गरेर समाचार लेख्ने चार जना पत्रकारलाई लेखनवृत्ति पुरस्कार समेत प्रदान गरिएको थियो । लेखनवृत्तिका लागि संस्थाकी पूर्व अध्यक्ष भीमा शिवाकोटीले रकम उपलब्ध गराउनुभएको थियो ।
उहाँले पत्रकार महिलाहरुलाई लेखन क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले तीजकै अवसर पारेर हरेक वर्ष एक जना पत्रकार महिलालाई लेखनवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ । “तीज हाम्रो सांस्कृतिक साझा पर्व हो”, उहाँले भन्नुभयो, “संस्कार, संस्कृतिको जगेर्ना गर्दै समाजलाई सकारात्मक सन्देश दिनु पत्रकारिताको कर्तव्य ठानेर मैले यो लेखनवृत्तिको सुरुवात गरेकी हुँ ।”
नारी सञ्चार गृहले यस पटक चार जनालाई लेखनवृत्ति प्रदान गरेको छ । लेखनवृत्ति प्राप्त गर्नेमा अस्मिता साँखी, रञ्जिता खड्का, सिर्जना परियार र ममता सापकोटा रहेका छन् । उनीहरुलाई पूर्व अध्यक्ष शिवाकोटीले प्रदान गरेको रकमबाट रु. दुई हजारका दरले कार्यक्रमकी प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी र संस्थापक अध्यक्ष सावित्रा दाहालले प्रदान गर्नुभएको थियो । शिवाकोटीले संस्थालाई रु. पाँच हजार नगद प्रदान गर्नुभएको थियो ।
आगामी बर्षदेखि संस्थाले कार्यविधि बनाएर लेखन कार्यमा सहभागी हुनेमध्ये एकजनालाई लेखनवृत्ति प्रदान गरिने संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष भण्डारीले कोशी प्रदेशसभाको न्याय, प्रशासन तथा विधायक समितिले हालै पारित गरेको आम सञ्चार प्रतिष्ठानको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
उहाँले सरकारलाई पत्रकार महासंघले सरोकारावालाहरुसँग छलफल गरेर दिएको सल्लाह र सुझावलाई बेवास्ता गरेर ऐन ल्याएमा स्वीकार्य नहुने बताउनुभयो । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी ल्याएका ऐन र कानुनहरु विरुद्ध महासंघले जस्तोसुकै संघर्ष गर्न पनि पछि नपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहालले पत्रकारिता चुनौतिपूर्ण पेशा भएकाले लेखनवृत्ति जस्ता पुरस्कारले महिलाहरुलाई यस क्षेत्रमा टिक्नका लागि हौसला मिल्ने बताउनुभयो । उहाँले सामूहिक तीज मनाउने परम्पराले सामाजिक एकतालाई कायम गर्दै महिलाहरुको हक अधिकारका बारेमा खुलेर बहस गर्न पछिल्लो समय सुरुवात भएको बताउनुभयो । दाहालले समेत आफ्नो जन्मदिनको अवसरमा उत्कृष्ट समाचार लेख्न पत्रकार महिलालाई गत बर्षदेखि लेखनवृत्ति प्रदान गर्दै आउनुभएको छ ।
रोटरी क्लव मिट टाउन विर्तामाडकी अध्यक्ष पुष्पाजलि सिन्हा, निवर्तमान अध्यक्ष रेजिना गौतमलगायतले तीजको सांस्कृतिक महत्व र बर्तमान अवस्थाको बारेमा चर्चा गर्नुभएको थियो । संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जोस्ना श्रेष्ठले स्वागत र सचिव दीपा सापकोटाले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार महिलाहरुले तीजका गीतमा छमछमी नाचेर सामूहिक दर समेत खाएका थिए ।