९ भदौ २०८२, सोमवार

बाहुनडाँगीबासीको प्रश्न : प्रदेशले पठाएको रु. ३० लाख कहाँ खर्च भयो ?

५ भदौ २०८२, बिहिवार
Image

झापा, ५ भदौ । हात्तीमैत्री पर्यापर्यटन कार्यक्रमका नाममा कोशी प्रदेश सरकारबाट बाहुनडाँगीमा आएको रु. ३० लाखको बजेटको खर्च अपारदर्शी भएको स्थानीयले दावी गरेका छन् ।

प्रदेश सरकारले आव २०८१/८२ का लागि आएको उक्त बजेट कहाँ, कसरी र कसले खर्च गर्यो भन्ने विषयमा बाहुनडाँगीका हात्ती प्रभावित बासिन्दाले थाहा नपाएको बताए ।

बन डिभिजन कार्यालय झापाको अनुरोधमा बुधवार मेचीनगर वडा नं. १ मा आयोजित सर्वपक्षीय कार्यक्रमका सहभागी र वक्ता रहेका बाहुनडाँगीबासीले हात्ती प्रभावित क्षेत्रमा आउने हरेक बजेट पारदर्शी हुनुपर्ने माग गर्नुभएको छ ।

‘सर्वपक्षीय कार्यक्रममा म पनि सहभागी भएको थिएँ,’ मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका पूूर्व अध्यक्ष निरज घिमिरेले भन्नुभयो– ‘बाहुनडाँगीका हात्ती पीडित जनताका लागि रु. ३० लाखको बजेट आएको रहेछ । त्यो कहाँ र कसरी खर्च कसले गर्यो भनेर स्थानीयबासीले प्रश्न गरिरहनु भएको थियो । मैले पनि राज्यबाट आउने बजेट पारदर्शी हुनुपर्छ भनेर धारणा राखे ।’

कार्यक्रमको आयोजक समेत रहनु भएको बाहुनडाँगी आरआरटीका अध्यक्ष सुमन कार्कीले प्रदेश सरकारबाट जनताका लागि आएको त्यत्रो बजेट केही व्यक्तिले मिलेर साटाकसुटुक खर्च गरेको आरोप लगाउनु भयो ।

‘हात्तीको नाममा आउने पैसा यसरी साटाक्‌सुटुक मास्न पाइँदैन,’ कार्कीले भन्नुभयो– ‘जसका लागि बजेट आएको हो, उनीहरुलाई नै थाहा नदिई खर्च गर्ने कार्य जोसुकैले गरेको भए तापनि आपत्तिजनक छ । कार्यक्रममा यही कुरा जनताले उठाउनुभयो ।’

कोशी प्रदेशकै सबैभन्दा बढी हात्ती प्रभावित क्षेत्र भएको कारण बाहुनडाँगीलाई केन्द्रित गरेर प्रदेश सरकारले रु. ३० लाख बजेट पठाएको पाइएको छ । तर, बजेट आएको विषयमा हालसम्म स्थानीयबासीलाई कुनै जानकारी नगराइएको आरआरटीका अध्यक्ष कार्कीले बताउनुभयो ।

उक्त बजेट डिभिजन बन कार्यालय, मेचीनगर वडा नं. ४ र धाइजनस्थित इलाका बन कार्यालयको सहकार्यमा खर्च गर्ने त्रिपक्षीय सम्झौता भएको देखिन्छ ।

‘मेचीनगर वडा नं. ४ लाई रु. १५ लाख भाग परेको रहेछ,’ मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका पूूर्व अध्यक्ष घिमिरेले भन्नुभयो– ‘बाँकी रु. १५ लाख डिभिजन बन कार्यालय झापा र इलाका बन कार्यालयले पाएको रहेछ ।’

उक्त बजेट के के शीर्षकमा कसरी खर्च भयो भन्ने बारेमा सरोकारवालाले सत्यतथ्य विवरण सार्वजनिक गर्नु पर्ने घिमिरेले माग गर्नुभयो । 

‘कार्यक्रम नै नभएको र नगरेको भन्न खोजेको होइन,’ घिमिरेले भन्नुभयो– ‘बासका जराको हस्तकलाका सामग्री बनाउने तालिम गरिएको थियो । त्यसमा कति खर्च भयो ? बाहुनडाँगीमा केही ट्याम्पोहरुमा हात्तीको पोस्टर लगाएर हिँडेको पाइएको छ । त्यसमा कति खर्च भयो ? सबै खर्च चित्तबुझ्‌दो र पारदर्शी हुनुपर्छ भन्ने बाहुनडाँगीका हात्ती पीडित जनताको भनाई हो ।’

उहाँले बाहुनडाँगीले भोगिरहेको समस्याको सही समाधान खोज्ने कार्यमा बजेट खर्च हुन नसकेको भन्दै भारतबाट भित्रिने हात्तीको हुल रोक्नका लागि विद्युतीय घेराबेरालाई बलियो बनाउन बजेट प्रयोग नभएको गुनासो गर्नुभयो ।

‘खाली पर्यटक भित्राउने भनेको सुनिन्छ, कहिले पर्यापर्यटन भनेको सुनिन्छ,’ उहाँले भन्नुभयो– ‘पर्यापर्यटनको बहानामा लाखौं बजेट खर्च भइरहेको छ । खाली प्रचारात्मक कार्यक्रममा खर्च भइरहेको छ । समस्याको समाधान गर्ने कुनै कार्यक्रम ल्याइएको छैन । यसैमा जनता आक्रोशित भएका छन् ।’ 

बुधवार भएको सर्वपक्षीय कार्यक्रममा मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकी, डिभिजन बन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठ, मेचीनगर वडा नं. १ का अध्यक्ष, नागरिक समाजका अध्यक्ष नीलकण्ठ तिवारी लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।