झापा, ६ भदौ । मेचीनगर नगरपालिका वडा नं.– ३ की सरस्वती बानियाँ सिलाई सम्बन्धी एडभान्स तालिम लिएपछि प्रशिक्षक बनेर गाउँका अरु महिलालाई स्वरोजगार बनाउने अभियानमा हुनुहुन्छ ।
“स्वरोजगार बन्ने लक्ष्यका साथ सुरुमा नगरपालिकाबाट सिलाई कटाई तालिम लिएँ,” उहाँ भन्नुहुन्छ– “एडभान्स तालिम लिएपछि अरु दिदीबहिनीलाई सीप सिकाउन थालेकी छु । घरमै बसेर सिलाई सम्बन्धी व्यवसाय समेत सञ्चालन गरेर गरिखाने भएकी छु ।”
हातमा सीप भएपछि आफै मालिक बन्न सकिने अनुभव उहाँको छ । मेचीनगर नगरपालिकाले महिलालाई आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यले लघु उद्यमी समूह गठन गरेको छ । समूहमा आवद्ध महिलालाई बानियाँ लगायतका प्रशिक्षकले तालिम दिदै आउनु भएको छ ।
लघु उद्यमी समूह मेचीनगरकी अध्यक्ष चन्द्रकला रिजालले अचार बनाउने र च्याउँ फलाउने सम्बन्धी एडभान्स तालिम लिनु भएको छ । हाल उहाँले बिर्तामोड नगरपालिकाका महिलाहरुलाई अचार र च्याउँ सम्बन्धी प्रशिक्षण दिदै आउनु भएको छ ।
“मैले पनि तालिम लिएरै सीप सिकेको हुँ,” उहाँ भन्नुहुन्छ– “अधिकांश महिलाहरु घरमा बसेर आफु बेरोजगार भएको गुनासो गर्नुहुन्छ । म उहाँहरुलाई सीप सिकेर उद्यमी बन्न आग्रह गर्छु । किनकि, सीप सिकेपछि कोही पनि बेरोजगार बस्नु पर्दैन ।”
गरीवी निवारणका लागि मेचीनगरको लघु उद्यमी समूहमार्फत नगरपालिकाले १०८ जनालाई सीप सिकाएर स्वरोजगार उद्यमी बनाएको मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले बताउनुभयो । तालिम पाएका १०८ जनामध्ये १०६ जना महिला छन् ।
नगरपालिकाको उद्यमी समूहबाट तालिम पाएकाहरु अधिकांश उद्यमी बनेका छन् भने दर्जन बढी महिला उद्यम सम्बन्धी तालिमका प्रशिक्षक बन्नु भएको छ । उहाँहरुले विर्तामोड, कचनकबल, रोङ, दमक लगायतका पालिकामा तालिम प्रदान गरिरहनु भएको छ ।
लघु उद्यम समूहले सिलाई कटाई, व्यूटी पार्लर, सैलुन, झोला बनाउने, विद्युत जडान गर्ने लगायतका तालिम प्रदान गर्दै आएको समूहकी अध्यक्ष चन्दकला रिजालले बताउनुभयो । मेचीनगरको वडा नं. ७ मा हालै सिलाई कटाई सम्बन्धी तालिम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
मेचीनगर वडा नं. ७ का अध्यक्ष प्रह्लादमणि ओलीले सिलाई कटाई सम्बन्धी भर्खरै तालिम लिनु भएका ४३ जना महिलालाई उद्यमी बनाउनका लागि ४३ वटा सिलाई मेसिन प्रदान गरिएको बताउनुभयो । उक्त मेसिन खरिदमा नगरपालिकाले ८० प्रतिशत लगानी गरेको र तालिम लिएका सहभागीले २० प्रतिशत लागत साझेदारी गरेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले सीप विकास तालिम अन्तर्गत सिलाई कटाईमा १८ जना, व्युटी पार्लरमा चार जना, सैलुनमा चार जना, झोला बनाउनेमा २७ जना, एडभान्स झोला बनाउने तालिममा ३६ जना र विद्युत जडानमा १५ जनालाई हालै तालिम प्रदान गरेको उपप्रमुख उप्र्रेतीले बताउनुभयो ।
एडभान्स तालिममा सहभागी भविता रिजालले झोला बनाउने तालिम लिएको जनाउँदै यसबाट जीविकोपार्जनमा मदत पुग्ने अपेक्षा राखेको बताउनुभयो । “घर बसी बसी झोला बनाएर आएको आर्जनले अहिले नै छोराछोरीको खाजा खर्च टार्दै आएकी छु,” उहाँ भन्नुहुन्छ– “अझै मिहेनत गरेर परिवारको गर्जो टार्न सक्ने आँट छ ।”
मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले तालिम लिएका महिला उद्यमीहरुले बनाएका झोला लगायतका सामान नगरका विद्यालयमा प्रयोग गर्नका लागि छलफल गरिने बताउनु भएको छ । उहाँले सामग्रीको बजारिकरणका लागि नगरपालिकाले पहल गर्ने आश्वासन दिनु भएको छ ।